खेलको विकास लागि बन्दैछन् खेलकुद संरचना

असार ११, काठमाडौ – राष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्ला हो, भोजपुर । यही जिल्लामा जन्मिएका खेलाडीले नेपाललाई विश्वसमक्ष चिनाएका छन् । अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राईदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याडमिन्टन र उसु खेलाडी पनि यो भूमिले जन्माएको छ । खेलको क्षेत्रमा यति धेरै योगदान पु¥याउने भोजपुरमा खेलको विकासका लागि विगतका दिनहरुमा दीर्घकालीन योजनाका साथ काम नहँुँदा खेलाडीले भने समस्या झेल्दै आएका छन् ।

देश सङ्घीय प्रणालीमा गएपछि भने यहाँ खेल क्षेत्रको विकासका लागि कामको थालनी भएको देखिन्छ । जिल्लाका नौ ओटा नै स्थानीय तहहरुले खेल क्षेत्रको विकासका लागि लगानी बढाएको भएपनि अझै जिल्लामा कुनै ठूलो खेलको आयोजना गर्नुपर्दा खेल मैदानको अभाव छ । यही समस्यालाई ध्यानमा राख्दै भोजपुर रङ्गशालाको निर्माण शुरु भएपछि भने खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ ।

जिल्लामा ढिलै भएपनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्न थालेपछि खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङ भरिएको छ । पाँच हजार मानिस अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरबासीमा उत्साह थपिएको छ । प्रदेश १ सरकारको रु १४ करोड पाँच लाखमा गत मङ्सिरदेखि तीव्रगतिमा रङ्गशाला बनिरहेको छ ।

आगामी २०८० सालसम्ममा सम्पन्न गर्नुपर्ने समय जिम्मा तोकिएको भएपनि त्यसअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माणको जिम्मा लिएको रायमाझी मार्सेली निर्माण जेभीले जनाएको छ । विसं २०७६ कात्तिक ७ गतेबाट शुरु भएको निर्माण कार्य समयमै रकम निकासा हुनसके समयावधिभन्दा झण्डै डेढ वर्ष अगाडि नै काम सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रमुख श्याम श्रेष्ठले बताए।

भोजपुरको फुटबल क्षेत्रमा टेवा पु¥याउने लक्ष्यले २०६४ सालमा पहिलो जिल्ला विकास समिति बोर्डले रु ५५ लाख मूल्यमा जिल्ला खेलकुद परिषदमार्फत रङ्गशालाको जग्गा खरीद गरिएको थियो । जिविसबाट छुटाइएको केही रकमबाट रङ्गशालाको स्तरोन्नति गर्ने काम थालिएपनि बजेट अभावमा अगाडि बढ्न सकेको थिएन ।

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत संरचनाको काम अन्तिम चरणमा पुगेको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउनेलगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेल मैदानमा दुबो लगाउने काम पनि भइरहेको छ । सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात ओटा प्याराफिड निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कूल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ १०२ मिटरको लम्बाई र पश्चिमतर्फ १०५ मिटरको लम्बाईमा मैदान सम्याइएको छ । कामलाई गुणस्तरीय बनाउन इन्जिनीयरहरूले नियमित रूपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनीयर रजनिसकुमार झाले बताए ।

रङ्गशाला निर्माणका क्रममा विस्तृत परियोजना प्रतिवेदनमा छुट भएका केही संरचनाको विषयमा भोजपुर जिल्ला फुटबल सङ्घले ध्यानाकर्षण गराउँदै आएको जनाएकोे छ । ‘‘भोजपुर जिल्लाको खेल क्षेत्रको विकासमा रङ्गशालाले निकै ठूलो टेवा पुग्ने देखिन्छ । प्रदेश १ सरकारले जुन योजनाका साथ काम थालेको छ । यसले जिल्लाबासी तथा खेलाडी र खेलप्रेमीहरुमा उत्साह बढेको छ’’, भोजपुर जिल्ला फुटवल सङ्घका अध्यक्ष प्रविन सुवालले भने, ‘‘विभिन्न समयमा हामीले अन्तर्राष्ट्रियस्तरको खेल खेलाउँदै आएको भएपनि मापदण्डअनुसारको खेल मैदान नहँुदा धेरै समस्या झेल्नु परेको थियो । रङ्गशाला निर्माण सम्पन्न भएपछि त्यो समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।’’

विश्व अल्ट्रा धावक मीरा राईको सम्मानमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रङ्गशाला’ निर्माणको काम पनि तीव्रगतिमा भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । गाउँपालिकाको क्रमागत बजेटअन्तर्गत रु।५५ लाख र प्रदेश १ सरकारको रु एक करोड ३५ लाख गरी झण्डै दुई करोडको लागतमा सो रङ्गशाला निर्माण भइरहेको छ । यस्तै प्रदेश सरकारकै क्रमागत योजनाअन्तर्गतकै रु छ करोड लागतमा षडानन्द नगरपालिकाको दिङ्ला रङ्गशाला पनि निर्माण काम भइरहेको छ ।

यस्तै प्रदेश १ सरकारकै रु ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान र रु २५ लाख लागतमा हतुवागढी गाउँपालिका—१ रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रङ्गशाला निर्माण क्रम जारी छ । अन्य दर्जनौ खेलकुद आयोजनाहरु सञ्चालनमा छन् ।

वर्षौदेखि बजेट अभाव झेल्दै आएको रङ्गशाला झण्डै १२ वर्षमा रु ४० लाख बराबर लागतमा रङ्गशालाको केही प्रतिशत स्तरोन्नति काम सम्पन्न भएको थियो । स्थानीय सरकार आएपछि भोजपुर नगरपालिकाले वडाअन्तर्गत स्तरोन्नतिमा केही रकम छुट्याउदै आएको छ । प्रदेश १ कै उत्कृष्ट रङ्गशालाको रुपमा भोजपुर रंगशाला बन्ने भएपछि सिङ्गो जिल्लाका लागि नै खेलाडी उत्पादनका लागि उर्वर भूमि बन्ने भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले बताउछन।

जिल्ला फुटवल सङ्घले पटकपटक रङ्गशालाका लागि सरोकारवाला निकायदेखि मन्त्रालयसम्म बजेटका लागि ताकेता गर्दै आएको थियो । प्रदेश सरकार बनेपछि ठूला आयोजनाअन्तर्गत प्रदेश सरकारले नमूना रङ्गशाला बनाउने लक्ष्यले बजेट विनियोजन गरेपछि सहज बाटो खुलेको सङ्घका कोषाध्यक्ष विनम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वर्षौंपछि रङ्गशालाको नयाँ रुप लिने सपना पूरा हुने भएको छ । स्तरोन्नतिका लागि पर्याप्त बजेट र उपकरण सामग्री पनि पर्याप्त हुने भएको छ ।’’RSS