आपत्कालीन नदी नियन्त्रण गर्न आयोजना असमर्थ

असार १, काठमाडौँ – मनसुन शुरु हुन लागेका बेला खाँडो नदी व्यवस्थापन आयोजना राजविराजले आपत्कालीन नदी नियन्त्रणकार्य गर्न असमर्थ रहेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट नछुट्याएकाले आयोजनाले आपत्कालीन नियन्त्रणका कार्य गर्न असमर्थ रहेको भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

आयोजनाका कार्यालय प्रमुख रेवाकान्त यादवले आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट कटौती भएकाले बाढीजन्य विपद् व्यवस्थापन कार्य गर्न असमर्थ रहेको बताए । उनले बजेट व्यवस्थापन कार्यमा आवश्यक सहयोग गरिदिन र बजेट व्यवस्थापन नहुञ्जेल आ–आफ्नो क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट आपत्कालीन नियन्त्रणकार्य गर्न÷गराउनसमेत आग्रह गरेका छन् । जलवायु तथा मौसम विज्ञान विभागले अन्य वर्षभन्दा यस वर्ष बढी वर्षा हुने र लामो समय रहने जनाउँदै आएको छ । विगत वर्षभन्दा यस वर्षको स्थिति झनै जटिल हुने देखिएको भन्दै आयोजनाले बाढीजन्य प्रकोपबाट सम्बन्धित निकायले समयमै सतर्कता अपनाउन आवश्यक रहेको बताएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित रुपनी हुँदै तिलाठी कोइलाडी गाउँपालिका भएर बग्ने खाँडो नदीको बाढीले रुपनी, बसबिट्टी, राजविराज, तिलाठी, लौनिया, सकरपुरा, कोइलाडीलगायतका गाउँ प्रभावित हुँदै आएको छ । हरेक वर्ष खाँडो नदीको बाढीले नदी किनार कटान गरी जग्गा बगरमा परिणत गर्ने तथा नदी किनारका गाउँबस्ती र बजार प्रवेश गरी ठूलो धनजनको क्षति गर्दै आएको छ । असारदेखि भदौ महिनासम्म हुने भारी वर्षाका कारण खाँडो नदीमा आउने बाढीले सो समयमा गाउँबस्ती डुबानमा पर्दा सयौँ नागरिक विस्थापन हुने गरेका छन् । यस सम्बन्धमा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीमा समेत छलफल भएको छ ।