‘राउटेलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गरिनु हुँदैन ।’ प्रजिअ रिजाल

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तर, राउटे समुदायमा यी सबै आधारभूत मूल्य मान्यता, कानुन तथा विधि विधानमा भन्दा निकै टाढा छ । अझै भनौँ नेपालको संविधान, विधि विधान नमान्ने नागरिक र समुदाय हो राउटे । यो समय राउटे समुदायलाई बाहिरी समाजले विभिन्न रुपमा प्रहार गरिरहेको छ । गत आइतबार मात्रै दुई राउटे युवतीहरुलाई होटलमा लिएर बन्दक बनाएको घटना बाहिर आयो ।

आज पनि जंगली युगको जिउँदो वर्तमान हो, राउटे समुदाय । उसको आफ्नै साम्राज्य छ, जंगलमा । फिरन्ते जीवन बाँचिरहेको यो समुदाय प्रकृतिप्रेमी समेत हो । यो समुदाय आफूलाई जंगलको राजा मान्दछ ।जंगल नै उनीहरुको जीवन र मृत्युको सच्चा सारथी हो । राउटेहरुको आफ्नो बेग्लै संस्कृति परम्परा छ । नेपालमा लोपउन्मुख अवस्थामा रहेको यो समुदाय कर्णाली प्रदेशमा मात्रै बसोबास गर्दछ । अहिले राउटेहरुको जनसंख्या १ सय ३८ जना मात्र रहेको बताइन्छ ।

अहिले उनीहरुको सुरक्षाका चूनौती थपिएको छ । यसै विषयमा हामीले सुर्खेतका प्रमुख जिल्ला अधिकार छविलाल रिजालसँग समग्रमा राउटे समुदायको सुरक्षा र संरक्षण लगायतका विषयमा कुराकानी गरेका छौँ ।

फिरन्ते रुपमा बस्दै आएको राउटे समुदायकी युवतीहरुलाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ, खास घटनाको पृष्ठभूमि के रहेछ बताइदिनुन ?

सबैलाई जानकारी भएकै कुरा हो । राउटे समुदाय फिरन्ते रुपमा बसोबास गर्दै आइरहेको छ । उनीहरु निश्चित ठाउँमा बस्दैनन् । जंगलमा बस्ने र घुमिरहने उनीहरुको दैनिकी जस्तो पनि रहेको छ । समुदायमा कोही सदस्यको मृत्यु भयो भने उक्त ठाउँ छोड्ने उनीहरुको संस्कृति जस्तै छ । उनीहरुको स्थायी आवास छैन । विद्यालय जादैनन् । लेखपढ समेत गर्दैनन् । उनीहरुको सामाजिकीकरण प्रक्रिया पनि सहज हुन नसकेको अवस्था छ । यसको क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समेत थुप्रै काम गरेका छन् । उनीहरुलाई अहिले सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिन्छ । राउटेको बच्चा जन्मन बित्तिकै मासिक ५ हजार र बृद्धलाई समेत बाचुञ्जेल सम्म भत्ता पाउने गरेका छन् । अर्को कुरा उनीहरुलाई स्थायी आवासको व्यवस्था गर्न खोजियो भने त्यो सम्भव देखिदैन । किनभने उनीहरु एउटै ठाउँमा बस्दैनन् । जर्बजस्ती गरेर एउटै ठाउँमा राख्न पनि नहुने । जुन कुरा तपाईले अहिले बाहिर आएको घटनाको विषयमा कुरा गर्नुभयो । त्यो धेरै कुरा मिडियामा आइसकेको छ । अश्लिल किसिमको भिडियो सबै तिर आएको सुनिएको छ । यसको नियन्त्रण निकै चूनौतीपूर्ण देखिएको छ । यो निकै दुःखद कुरा हो । यसले कसैलाई पनि फाइदा गर्दैन । सथ्यतथ्य बाहिर आउनुपर्छ तर समाजलाई हानी गर्ने खालका कुरा आउनु हुदैन भन्ने हो । हामीले खबर पाउना साथ पुलिस परिचालन गरिएको छ । तीन जनालाई पक्राउ गरिएको छ । निषेधाज्ञाको बेलामा होटल सञ्चालन गरेको कसुर समेत होटल सञ्चालकलाई लागेको छ । उनीहरुले अनैतिक क्रियाकलापलाई प्रसय दिएको पनि देखिएको छ । र राउटे युवतीहरुको सुरक्षाको लागि निकै चुनौती देखिएको छ । यो संकिर्ण समुदाय हो । आधुनिक चेतना नभएकोले नराम्रो घटना हुन सक्ने पनि देखिएको छ । त्यसैले हामी चिन्तित छौँ । उनीहरुको सुरक्षाको लागि हामी लागि राखेका छौँ । बाहिरबाट सुरक्षा प्रदान गर्ने कुरामा समस्या देखिदैन । तर दैनिक जीवन गुजाराका लागि बजारमा आउने भएकोले कसैले त्यो भिडियो देखाइदियो भने समस्या हुने देखिएको छ । त्यसको लागि हामी निकै सतर्क छौँ । बाहिरका मान्छेलाई जान रोक लगाइएको छ ।यस्तै मुख्यमन्त्री ज्यूको संयोजकत्वमा बैठक बसेर समिति नै बनाएको छ । सहजीकरणको लागि समेत समिति निर्माण गरिएको छ ।

पीडितहरुको स्वास्थ्य जोखिममा रहेको देखिन्छ, उनीहरुको ज्यानको सुरक्षा गर्नको लागि तपाईहरुले गर्ने पहल चाही के हो ?

समिति निरन्तर लागिरहेको छ । समुदायसँग समन्वय र सहकार्यको काम भइरहेको छ । उनीहरुसँग पूर्व परिचित मानिसहरुलाई समेत लिएर उनीहरुको कुराकानी हुन्छ । परिचितहरुसँग उनीहरु राम्रो सँग बोल्छन् पनि । त्यसैले काम गर्न समेत सहज हुने आशा गरिएको छ । मैले सुने अनुसार राउटे समुदायका तीन जना मुखिया छन् । उनीहरुका श्रीमतीहरु । दुई जना पीडित युवतीहरु भए । उनीहरुलाई वीरेन्द्रनगर ल्याउने । दुई चार दिन यतै राख्ने । छलफल समेत गर्ने । काउन्सिलिङ गरेर स्वास्थ्य परिक्षण भइसकेको छ ।

पछिल्लो समय राउटे समुदाय माथि खासगरी युट्युबरहरुले एक प्रकारको आतंक नै मच्चाएको देखिन्छ ? अन्य समुदायबाट असुरक्षित भयो पनि भनिन्छ, राउटे समुदायलाई बाहिरी समाजबाट सुरक्षित कसरी बनाउन सकिन्छ होला नी ?

राउटे समुदायलाई आज र भोली नै चमत्कारिक हिसाबले दीर्घकालीन व्यवस्थापन सुरक्षा भने चूनौतीको विषय बनेको छ । उनीहरुलाई जर्बजस्ती सामाजिकिकरणको पक्षमा उभ्याउन सम्भव पनि देखिदैन । तर सरकारहरुले दिने नगदको सट्टा विभिन्न विकल्पमा भने काम गर्न सकिने थूपै्र सम्भावनाहरु रहेका छन् । उनीहरुको दैनिकी नै मदिरा सेवन बित्ने गरेको पाइएको छ । मदिराको मामिलामा यो समुदाय निकै कमजोर पनि छ । सरकारले दिने पैसाले मदिरा र सुर्ती सेवन गर्ने कुरा आएको छ । तत्काल नियन्त्रण गर्नको लागि उनीहरु बस्ने आसपासमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने विषयमा हामी गम्भीर छौँ । यसमा स्थानीय सरकारले पनि काम गरिरहेको छ ।अर्को कुरा उनीहरुलाई नगद्को सट्टा आवश्यक पर्ने खाद्यान्न, पौष्टिक आहाराहरु दिने विकल्पमा पनि जाने होकी भन्ने कुरा पनि आएको छ । अन्य थुप्रै विकल्पमा समेत कुराकानी भइरहेको छ । उनीहरुलाई जसरी पनि सुरक्षित बनाउने कुरामा हामी चिन्तित छौँ ।

घटनासँग सम्बन्धित भिडियोको सम्बन्धमा अपलोड, सेयर गर्नेहलाई साइबर अपराध लाग्ने कुरा कानुनले आकर्षित गर्छ, यसको नियमनलाई कत्तिको गम्भीरताका साथ हेरिएको छ ?

यस्ता गतिविधि गर्नेहरु विरुद्ध साइबर अपराधको कसुरमा कारबाही हुन्छ । यस्तो केसहरु सिआइवीले हेर्दै आएको छ । यसमा विषयमा जिल्ला प्रहरीलाई समेत जानकारी गराइएको छ । उनीहरुले आफ्नो मातहतको अंगबाट छिट्टै काम शुरु गर्छन् । त्यसैले यस्तो घटनामा पीडितलाई न्याय र पीडकलाई कारबाही लगायतका कुरामा सबैले ध्यान दिनुपर्छ । यसमा हामी गम्भीर रुपमा लागि परेका छौँ । समाजमा अपवाह फैलाउने खालका गतिविधि गर्न कसैलाई छुट छैन । त्यसैले यस्ता कुरामा संयम रहन मेरो विनम्र अनुरोध छ ।

अन्त्यमा, आगामी दिनमा राउटे समुदायलाई सुरक्षि बनाउन सरोकारवालाहरुको भूमिका कस्तो हुनु पर्ला के सुझाव दिन चाहनुहुन्छ ?

सम्पूर्ण सरोकारवालाहरुलाई म के आग्रह गर्न चाहन्छु भने , यो निकै संवेदनशिल विषय हो । मान्छेको सभ्यतामा माथि खेलवाड गर्ने कुरा हामी कसैले पनि गर्नु हुँदैन । यस्तो किसिमको क्रियाकलापले राम्रो सन्देश दिदैन । हालै जुन किसिमको घटना घट्यो । त्यो अक्षम्य हो, निन्दनीय हो । यसमा संलग्न मान्छेहरुलाई जति कारबाही गरेपनि पुग्दैन भन्ने लाग्छ । अर्कोतिर अनावश्यक युट्युब बनाउने, मिडियामा पोष्ट गर्ने कुरा छ । यसको पूर्णत निषेध गरिनुपर्छ भन्ने पक्षमा म छु । उनीहरुलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गरिनु हुँदैन । उनीहरुको माथिको संवेदनशिलताको ख्याल गर्नुपर्छ । हामी पढेलेखेका मानिसहरु थप जिम्मेवार हुन आवश्यक देखिन्छ । र त्यसो भयो भने मात्रै उनीहरुको पनि जीवन रक्षा हुन्छ । र हाम्रो पनि मानव हुनुको इजजत रहन्छ जस्तो लाग्छ मलाई ।