भूतपूर्व खेलाडी मञ्चको कार्यबाहक अध्यक्षमा पराजुली, बतास फाउण्डेशनलाई एक लाख दिने

जेठ ३०, पोखरा- नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको कार्यबाहक अध्यक्षमा हरि प्रसाद पराजुली नियुक्त भएका छन ।

मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो व्यक्तिगत कार्यव्यस्तता कारण मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका पराजुलीलाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा नियुक्त भएकाले आफ्नो कार्यव्यस्तताका कारण पराजुलीलाई कार्यबाहकको जिम्मेवारी सुमिएको अध्यक्ष गुरुङले बताए ।

भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पराजुली कृषी विकास बैंक सञ्चालक समितीका सदस्य हुन ।

यसै विच भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड विरुद्धको महामारी सँग जुध्न गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बतास फाउण्डेशनले सञ्चालनमा ल्याउन लागेको अक्सिजन ग्यास प्लान्टका लागि १ लाख नगद सहयोग गर्ने भएको छ । मञ्चको शनिवार सम्पन्न जुम बैठकले फाउण्डेशनलाई १ लाख सहयोग गर्ने निर्णय गरेको हो । फाउण्डेशनले महामारीको बेला मानविय विपत्तीबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आफ्नो उपस्थिती समेत रहोस भन्नका लागि उक्त सहयोग गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।

यसै गरी फाउण्डेशनको आह्वानमा मञ्चका पदाधिकारी तथा आजिवन सदस्यहरुले समेत व्यक्तिगत रुपमा नगद सहयोग गर्ने भएका छन । मञ्चका तर्फबाट फाउण्डेशनका लागि अध्यक्ष तेज गुरुङ, महासचिब खेम गुरुङ, सदस्यहरु भरत कुमार आले, ओम गुरुङ, हरिश्वर पराजुली र आजिवन सदस्य मैंया पराजुलीले व्यक्तिगत रुपमा जनही ५ हजारका दरले सहयोग गर्ने भएका छन । उक्त रकम एक मुष्ट रुपमा संकलन गरी मञ्चको तर्फबाट फाउण्डेशनलाई प्रदान गरिने भएको छ ।