कोरोनाले बढायो आर्युेवेदिक औषधिको महत्व

जेठ २८, काठमाडौँ – अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो ।

पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।

कोरोनाको हालसम्म कुनै औषधि नबनेका कारण कोरोना जित्न सहयोगीका रूपमा आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालयले जनाएको छ । कार्यालयले यस क्रममै सङ्क्रमितको हातहातमा आयुर्वेद औषधि पु¥याउने अभियान चलाइरहेको छ । कोरोना सङ्क्रमितलाई अनलाइनमार्फत योगाभ्यास गराउनेदेखि रोग प्रतिरोधात्मक औषधि वितरणसम्मको काम औषधालयले गर्दै आएको धवलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोज रायले बताए । “सङ्क्रमितले आफूखुशीसमेत आयुर्वेद औषधि सेवन गरेको पाइएको छ । तर फोनबाटै भए पनि सल्लाह गरेर खाँदा राम्रो हुन्छ, गुर्जो, बेसार, अदुवालगायतका औषधिको समेत मात्र मिलाएर खान आवश्यक हुन्छ, हामीले बारम्बार आइसोलेशन तथा होमआइसोलेशनमा गएर भन्दै र परामर्श गर्दै आयुर्वेदको महत्व दर्शाएका छौँ”, डा रायले भने, “अहिले कार्यालयबाट समेत दैनिक २० देखि ३० जनाभन्दा बढीले हामीले कोरोना जित्न सहयोग गर्र्न बनाएको औषधि प्रयोगका लागि लैजानुभएको छ भने करिब २१२ कोरोना सङ्क्रमितलाई कार्यालयले पालिकासँग समन्वय गरेर औषधि वितरण गरेको छ ।” कोरोनाको पहिलो लहरपछि निरन्तर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको माग भएको र अहिलेसम्म ७५४ जनाले उक्त औषधि लगेको औषधालयको भनाइ छ ।

कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसासमेत बढाउँदै लगेको र लोपोन्मुख जडीबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उनको भनाइ छ । गुर्जो गुमनामजस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ । कोरोना सङ्क्रमित भई होमआइसोलेशन तथा आइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा रायको दाबी छ । नेपालका पाँचौँ कोरोना सङ्क्रमित बागलुङकी अंशु सापकोटा र छैटौँ सङ्क्रमित मनकुमारी पौडेलले समेत आत्मबल र आयुर्वेद औषधिको सहारामा कोराना जितेको बताएका थिए ।

होमआइसोलेशनमा बसेर कोरोना जित्नुभएका पत्रकार नारायण रिजाल, स्थानीय दुर्गा सुवेदीलगायतले होमआइसोलेशनमा बस्दा गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनीजस्ता आयुर्वेद औषधिको प्रयोग गरेको बताउँछन् । सङ्क्रमित बिरामीलाई लक्षणअनुसारको आयुर्वेदिक औषधि, आहार/विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ ।

औषधालयको सेवा नपुगेको बरेङ गाउँपालिका, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पतालमार्फत औषधि पठाई सेवा दिइरहेको छ । औषधालयले उत्पादन गरेको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएको छ । धवलागिरि आयुर्वेद औषधालयले उत्पादन गर्दै आएको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’को प्रयोग निकै बढी गरिएको छ ।

उक्त औषधिले कोरोना लाग्नबाट जोगाउने, कोरोना लागेमा जित्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा कोरोनापछिको रुघाखोकी, छातीको दुखाइसमेत कम गर्दै लैजाने डा राय बताउँछन् । उनका अनुसार कोरोना सङ्क्रमणको अवस्थामा आयुर्वेद औषधिसँगै दैनिक ४५ मिनेट योगाभ्यास गर्नुपर्नेछ । सङ्क्रमितले स्वास्थकर्मीको परामर्शमा औषधि खाँदा अन्य असर नगर्ने उनि बताउँछन् । गुर्जोले सुगर र प्रेसर घटाउने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै आयुर्वेद औषधि खान डा रायको सुझाव छ । उनका अनुसार गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधुलगायतको मिश्रण धुलो दुई ग्राम पानीमा पकाएर खान सकिन्छ । रासस