आगलागीमा परी श्रीमान श्रीमतीको जलेर मृत्यु

जेठ २१, संखुवासभा -मादी नगरपालिका- ५ च्याङरिङ बस्ने ४६ वर्षीय राजेन्द्र बाबु दाहाल र उनकी श्रीमती ५० वर्षीया कमला भण्डारी दाहालको आगलागीमा परी बिहीबार राति मृत्यु भएको छ ।
आगलागीबाट जलेर मृत्यु भएको अवस्थामा कमलाको शव फेला परेको हो भने जलेर गम्भीर घाइते भएको अवस्थामा फेला परेका राजेन्द्रको उद्दार गरी लगिएकोमा मादी नगरपालिका-४ मादी पोलीक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाजु गायत्री दाहालको घरमा बाबुको क्रिया बसेका दुवै जना राति घर बाहिर निस्किएकोमा फर्कि नआएपछि खोजी गर्ने क्रममा उनीहरुको घरमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादीराम्बेनीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीको कारण हाल खुल्न नसकेको प्रहरीले वताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।