जेठ १५,काठमाडौँ – केही दिनदेखि परेको पानीका कारण खोलानाला बढेपछि मनाङको चामेमा विद्युत् आपूर्ति बन्द भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बिजुलीका पोलहरु ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
चामे गाउँपालिका—३ नयाँबजारमा घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि विद्युत् सेवा ठप्प भएको जिल्ला प्रशासन कार्यालायले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि दर्जनौँ घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् ।
बाढीका कारण चामेमा खानेपानी सुविधा पनि अवरुद्ध भएको छ । वर्षाले सडक तथा पुल बगाउँदा लमजुङबाट आवतजावत गर्ने यातायात विच्छेद भएको छ । निरन्तरको वर्षाका कारण चामेका ३६ घर जोखिममा परेका छन् ।
बाढी पसेको बस्तीमा आज सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहायतामा उद्धार गर्ने काम भइरहेको छ ।
पुनः खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर घरभित्र पसेका बालुवा फाल्ने र खोला रोक्ने काम भइरहेको छ । हिजो दिउँसो २ बजेको समयमा घट्टे खोला र ठाडो लाइन खोलाहरुबाट आएको बाढी बस्तीमा पसेको थियो । रासस