उत्पादकको मूल्यअनुसार जिडिपी ४२ खर्ब ६६ अर्ब पुग्ने अनुमान

जेठ १४, काठमाडौँ – मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० रु ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार उत्पादकको मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन उक्त परिमाणमा पुग्ने अनुमान गरिएको छ ।

कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा सङ्कुचन आएको भए पनि चालु आर्थिक वर्ष २०७७/७८ का प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेका छन् । यद्यपि पछिल्लो एक महिनाभन्दा बढी समयदेखि कोरोनाको दोस्रो लहर आएका कारण अर्थतन्त्र थप सङ्कुचित हुने अवस्था देखिएको छ ।

आव २०७६/७७ मा कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएकाले स्वास्थ्य सङ्कटको अवस्थामा सुधार आई आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान गरिएको थियो । कोरोनाको दोस्रो लहरका कारण उक्त प्रक्षेपणसमेत पूरा नहुने अवस्थामा पुगेको छ ।