चन्द्रागिरी नगरपालिका एक सातासम्म सिल, सर्वसाधारणलाई हिड्डुल गर्न पूर्णरुपमा प्रतिबन्ध

 

काठमाडौं उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ।

आजदेखि लागू हुने गरि ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई हिड्डुल गर्न पूर्णरुपमा प्रतिबन्ध गरिएको छ। नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरु निजी सम्पूर्ण कार्यालयका सेवा पूर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिइएको छ। त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउबिजन, कृषि उत्पादन, औषधि उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ। अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ। नगरपालिकाले बैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सीमाबाट फर्काउनु पर्ने सवारीसाधनहरु धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।

आज नागढुंगा नाका पनि सुनसान प्रायः देखिएको छ। एम्बुलेन्स, अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन भएका छन्। सर्वसाधारण पनि घरबाहिर निस्कन नपाएपछि नगरपालिका सुनसान बनेको छ। राजमार्गमा पनि अन्य दिनमा जस्तो पास लिएर हिड्ने सर्वसाधारणहरु देखिएका छैनन्।

नगरपालिकाले अन्य व्यवस्थाका सम्बन्धमा भने बैशाख २८ गते काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश बमोजिम गर्न गराउन मातहतलाई निर्देशन जारी गरेको छ।

नगरपालिकाले भेरोसिल खोपको दोश्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध नगर्ने भएको छ। सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको देखाएर तोकिएको खोपकेन्द्रसम्म आवतजावत गर्न दिइनेछ।