उपत्यकामा आजदेखि थप कडाई

बैशाख ३०,काठमाडौं –उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड १९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

काठमाडौँ प्रशासनले एक सूचना जारी गरी कोरोनाको महामारी तीब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ। ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय वैशाख ३० गतेदेखि बन्द गर्ने, गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ।’

उपत्यकामा गए राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिएकाले रातिदेखिनै लागू हुनेगरी थप दुई हप्ता उक्त आदेश जारी गरिएको हो।
सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ।