राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

बैशाख २८, काठमाडौँ – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ ।

विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ ।

मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कङ्गो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मोनुस्का अभियानमा सैनिक र प्रहरी पठाएर मद्दत गर्ने राष्ट्रहरुप्रति सुरक्षा परिषदले आभार पनि व्यक्त गरेको जनाइएको छ । रासस–सिन्ह्वा