पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री

वैशाख २८, काठमाडौँ – दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

सो क्रममा अनेरास्ववियूले ७५० थान मास्क, ६० मिलिलिटरको १०० थान स्यानिटाइजर, ३० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । नेकपा (एमाले) माधव नेपाल समूह काभ्रेका जिल्ला सचिव दीपक गौतम, युवासङ्घका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्ववियू काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिनालगायतले महासङ्घ कार्यालयमै पुगेर अध्यक्ष बद्रीराज तिमल्सिनालाई सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष तिमल्सिनाले सङ्कटका बेला पत्रकारको सहयोगका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएर विपद्का बेलामा ठूलो सहयोग पु¥याएको बताए ।

त्यस्तै अनेरास्ववियूले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सो टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका लागि ७५० थान मास्क, ६० मिलिलिटरको २०० थान स्यानिटाइजर, २०० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । संस्थागतरूपमा जिल्लाका सबै नगरपालिका, गाउँपालिका र आइसोलेशन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरिने नेकपा एमाले काभ्रेका जिल्ला सचिव गौतमले बताए ।