‘ कोभिड अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्छ ’

बाँकेको कोहलपुर नगरपालिका कोरोना महामारीसँगै जुधिरहेको छ । नगरपालिकाले अहिलेसम्म २५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । दुई वटा भाडाका एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।नेपाल रेडक्रस सोसाइटी उप शाखासँगको सम्झौतामा भाडामा सञ्चालन भइरहेको हो । यस्तै कोहलपुर उद्योग वाणिज्य संघले पनि महामारीको समयमा कोभिड संक्रमितहरुको सेवाका लागि नगरपालिकालाई सहयोग गरेको छ । अहिलेसम्म कोहलपुरमा कुल १५ वटा मात्रै अक्सिजन सिलिन्डर रहेका छन् । २५ बेडको कोभिड अस्तपालमा कम्तिमा पनि ५० वटा अक्सिजन सिलिन्डर आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् । कोभिड अस्पतालमा अहिले सम्म ७० जना भन्दा बढी कोरोना संक्रमितको उपचार भइसकेको छ । अहिलेसम्म १ हजार भन्दा कोरोना संक्रमित कोहलपुरमा पुष्टि भएका छन् । ती मध्ये धेरै जनाले कोरोना जितिसकेका छन् ।कोहलपुर बाँकेमा नेपालगन्जपछि कोरोनाका कारण बढी मृत्यु हुने स्थानीय तह समेत हो । पछिल्लो एक महिनायता यहाँको कोरोना संक्रमण दर निकै बढेको छ । मृत्युदर समेत बढी रहेको छ भने होम आइसोलेसनमा समेत सयौ संक्रमित रहेका छन् ।अहिले कोहलपुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका विभिन्न प्रयास गरिरहेको छ । प्रस्तुत छ, कोभिड अस्पतालका एकमात्र चिकित्सक डाक्टर सन्तोष विसीको दैनिकी र भोगाई :


नमस्कार म डाक्टर सन्तोष विसी । म कोहलपुर नगरपालिकाको स्थानीय बासिन्दा समेत हुन् । म विगत एक महिनादेखि कोहलपुर नगरपालिकाद्धारा सञ्चालित कोभिड अस्पतालमा कार्यरत छु । एक महिनायता म अस्पताल मै बसोबास गरिरहेको छु ।नगरपालिकाले हाम्रो लागि यतै व्यवस्थापन गरिदिएको छ । केही स्वास्थ्यकर्मीहरु हुुनुहुन्छ । चिकित्सकको रुपमा म मात्रै एक्लै छु । मै २४ सै घण्टा यहाँ ड्युटी गरिरहेको छु ।

यस्तै दैनिक १ सय देखि २ सय जना सम्म कोरोना संक्रमित, उनीहरुका आफन्त तथा सर्वसाधारणहरुसँग फोन मार्फत सेवा तथा परामर्श दिने काम गरिरहेको छु । दिन रात नै बिरामीहरुसँग म प्रत्यक्ष रुपमा जोडिएको छु ।

कोभिड अस्पतालको क्षमता चाहीँ २५ बेडको छ । ती मध्ये अहिले १ दर्जन भन्दा बढीलाई हामीले अक्सिजन दिएर उपचार गरिरहेका छौ । बाँँकी सामान्य बेड रहेका छन् । त्यहाँ पनि कोरोना संक्रमितलाई राखेर स्वास्थ्य सेवा तथा परामर्श दिइरहेका छौ । यहाँ उपचारका लागि आएका बिरामीहरु डिस्जार्च तथा रिफर समेत गर्ने गरिएको अवस्था छ । कोही दुई दिन, तीन र कोही चार,पाँच दिनसम्म पनि यहाँ उपचार गरेर फर्किने गर्नुभएको छ ।

र दैनिक कोरोना संक्रमित थपिने क्रम पनि जारी छ । मैले बिरामीलाई घण्टाको अन्तरालमा भेट्ने, उनीहरुको अवस्था बारे जानकारी दिने गरिरहेको छु । अहिले पछिल्लो समय नगरपालिकाले प्यारामेडिक्स समेत खटाइदिएको छ । उहाँहरुले पनि राउण्डका आधारमा कोरोना संक्रमितहरुको उपचारको लागि सक्दो प्रयास गरिरहनु भएको अवस्था छ । हामीले हाम्रो तर्फबाट आफ्नो क्षमताले सक्ने जति इभोर्टहरु लगाइरहेका छन् ।

दैनिक बिरामी थपिने क्रम जारी छ । हामीसँग सीमित मात्रामा मात्रै सिलिन्डर छ ।त्यसो हुनाले केही कठिनाई भोग्नु परिरहेको अवस्था छ । यसले गर्दा हामीलाई अक्सिजन आवश्यक परेका बिरामीलाई दिन गाह्रो अवस्था भोगिरहेका छौ । दैनिक अक्सिजन रिभिल तथा भर्नको लागि नगरपालिकाका सवारी प्रयोग गरिरहेको अवस्था छ । अक्सिजन सप्लाईको नै समस्या देखिएको छ ।अर्कोतिर बिरामी एकैपटक ठूलो संख्यामा आउनुहुन्छ । त्यतिबेला व्यवस्थापन गर्न एकदमै समस्या भइरहेको छ ।

केहीदिन यता भने यस्तो समस्या झनै देखिएको छ । हामीले उपचार गर्न नसक्ने खालका बिरामी रिफर गर्छौ, मेडिकल कलेजमा लिनुहुन्छ फर्किनुहुन्छ । भेरी अस्पतालमा पनि भर्ना लिन मानिरहेको छैन । फेरी फर्किएर यतै आउनु पर्ने अवस्था छ । अहिले हामीले बेड खाली नभएर चौरमा राखेर पनि उपचार गराउनुपर्ने बाध्यता रहेको छ । हावाहुरीको समय छ । कति बेला पानीपर्छ थाहै हुदैन । त्यतिबेला कहाँ लिएर राख्ने भन्ने समस्या हुन्छ ।बिरामीहरुको त विजोग छ । धेरै समस्या भोगिरहेका छौ । पीसीआर गर्यो । रिपोर्ट आउन चार देखि पाँच दिन लाग्छ । केही बिरामीको त रिपोर्ट नआउँदै मृत्यु समेत भएको छ ।

बिरामीहरु घरदेखि बाटो मै अलपत्र अवस्थामा रहनु पर्ने अवस्थाको सिर्जना भइसकेको छ । यो भनेको निकै दर्दनाक अवस्था हो । संक्रमण बढिरहेकोले यस्ता दृष्य अझै बढ्ने सक्ने प्रबल सम्भावना छ । दिनभर अस्पताल चहार्यो कतै बेड पाइदैन । अन्तिम अवस्थामा त यहीँ बिरामी आउन बाध्य छन् । हामीसँग न्युनतम पनि पूर्वाधार छैन ।

दुईतीन वटाको एम्बुलेन्स मै मृत्यु हुन्छ । अटोमा बिरामी ओर्सानु पर्ने स्थिति छ । दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेपनि अझै अपुग भएको छ । अहिलेको अवस्था हेर्दा एकदमै गाह्रो छ । हामीले जसरी पनि बिरामीको उपचार गर्नुपर्छ । कठिन अवस्था हुँदाहुँदै पनि धेरै व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौ ।
यहाँको अर्को समस्या भनेको दक्ष जनशक्ति अभाव हो । अहिले म एक महिनायता दिनरात नभनी ड्युटी गरिरहेको छु ।

 

यहाँ अर्को डाक्टर पनि चाहिएको छ । सामान्य स्वास्थ्य जनशक्ति भने हामीसँग अभाव छैन । कोहलपुर नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा रहेका पारामेडिक्सहरुलाई अस्पतालमा प्रयोग गरिरहेका छौ ।

उहाँहरुले सामान्य हेरचाह गरिरहनु भएको अवस्था हो । यस्तै नगरपालिकाका १५ वटै वडाका स्वास्थ्य संस्थामा भएका एच.ए. र स्टाफ नर्सहरुलाई पनि सेवामा खटाइरहेको अवस्था छ । मैले भने एक्लै काम गरिरहेको अवस्था हो । अवस्था गम्भीर भएका बिरामी पनि हुनुुहन्छ । उहाँहरुलाई हेर्नैपर्छ ।

चिकित्सकको अभाव हो । नगरपालिकाले करारमा चिकित्सक भर्नाको लागि आवेदन खुलाईसकेको छ । अबको एकसातामा नयाँ चिकित्सक आउनु भयो भने मलाई केही सहज होला । होइन भने मैले नै अधिक समय ड्युटी गरिरहेको छु । चार जना स्वास्थ्यकर्मी, दुई जना हेल्पर र एक जना डाक्टर , दुई वटा एम्बुलेन्स सहित सेवा प्रवाह भइरहेको छ ।

अहिलेको स्रोत साधन र जनशक्तिले अस्पतालको बेड अढाउन सकिने अवस्था छैन । तर आवश्यकता एकदमै बढिरहेको छ । यसमा नगरपालिका गम्भीर हुनुपर्ने देखिन्छ ।अस्पतालको बेड बढाउने हो भने, चिकित्सकको संख्या समेत बढाउनुपर्ने हुन्छ । अहिलको अवस्थामा पहिलो चरणको जस्तो सामान्य बिरामी छैनन् । सिरियस किसिमका बिरामी आउँछन् ।उनीहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर बेला बेलामा उपचार गराउनुपर्ने हुन्छ ।

नत्र त अस्पतालको बेडमा मात्रै राखेर हामीले कोरोना संक्रमितको ज्यान जोगाउन सकिने अवस्था छैन । एउटा स्वास्थ्यकर्मीको उद्देश्य भनेको अस्पतालमा आएका बिरामीलाई स्वस्थ बनाउने र घर पठाउने हो । यस्तो पनि अवस्था छ, भेरी र मेडिकल कलेजले भर्ना लिएको छैन, हामीले अक्सिजन सहित राख्नु पर्ने बिरामीलाई भुईँमा राखेका छौ । उहाँहरुको घरमा भन्दा यहीँ बसेर उपचार गर्छौ भनेर भन्नुहुन्छ ।

हामी लाचार छौ ।कतिपय अवस्थामा चाहेर पनि संक्रमित बचाउन सक्दैनौ । जवरजस्ती घर जानुस भन्ने कुरा आउँदैन । मानवीय नाताले म्यानेज गरिरहेको अवस्था छ । स्थानीय अस्पतालक हो । सिधै निषेध गर्न पनि सकिदैन । जसरी हुन्छ मिलेर काम गरौँ भन्ने उपचार गराउने काम भइरहेको छ । अन्य अस्पतालले भर्ना लिदैन, अस्पतालको गेट बन्द हुन्छ । मध्ये रातमा अटोमा बिरामी लिएर आउनुहुन्छ । कसरी हुदैन भन्ने, बाध्य भएर राख्छौँ । धेरै जना दुईदिन भुईँमै बस्नुहुन्छ । बेडमा भएका बिरामी डिस्चार्ज हुनुभयो भने, बल्ल पालो आउँछ । अनि बेडमा राख्छौ ।

दैनिक दुई तीन जना डिस्चार्ज भएपछि मात्रै भुईमा बसेकाहरुको पालो आउँछ । केही किटिकल केसहरुको पनि सामना हामीले गरेका छौ । त्यसैले हाम्रा आगामी दिन त्यति सुखद देखिदैनन् । अस्पतालमा बेड नपाएर एकजनाको मृत्यु भयो ।
स्रोत साधनको अभाव पनि रहेको छ । अक्सिजन मात्रै भएकार बिरामीको मृत्यु रोकिदैन । रोक्न सम्भव पनि छैन । त्यो भनेको श्वास फेर्न समस्या भयो भने, केही सहज गराउने मात्रै हो । अस्पतालमा एक्सरे समेत छैन । रगत जाँच गर्ने साधन समेत छैन ।

मेडिकलको भर पर्नुपर्ने अवस्था छ । मैले व्यक्तिगत रुपमा अपिल गरेर पनि मेडिकल कलेजमा सहयोग मागिरहेको छु । उहाँहरुले पनि सहयोग गरिरहनु भएको छ । हाम्रै अस्पतालमा भएको भए, राम्रो हुने थियो । अहिले मिडियामा भेन्टिलेटरको कुरा आइरहेको छ । यहाँ सामान्य देखि जटिल प्रकारका बिरामी आउँछन् । हामीले राख्नै नमिल्ने खालका केस समेत राखिरहेका छौ । तपाईँ आफै सोच्नुहोस, महामारीको बेला अस्पतालको गेट बन्द गर्नुपर्ने अवस्था । हामी कस्तो अवस्थामा गुज्रिरहेका छौ भन्ने उदाहरण हो यो । यो अस्पतालमा सिरियस केस राख्न नमिल्ने हो । कि स्रोत साधनले युक्त हुनु पर्यो । हामी त धेरे समस्यामा छौ । तीन वटा रिफर गर्नुपर्ने केस छ । तर कही पनि पठाउन सकिएको छैन ।

कोहलपुर नगरपालिकाका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकत र मन्त्री समेत यहाँ पुगिसक्नु भएको छ । आउनु हुन्छ, अनुगमन गर्नुहुन्छ । कस्तो छ अवस्था भनेर सोध्नुहुन्छ ।१ सय जना बराबरको औषधि खरिद नगरपालिकाले गरेको थियो । अहिले ४ सय सम्म पुग्ने बेला भइसक्यो । मुख्य अभाव भनेको अक्सिजनको हो, तर प्रभावकारी पहल भएको देखिएको छैन । उहाँहरुले नै फोन गरेर बिरामी भर्ना गर्न भन्नुहुन्छ ।

अर्कातिर होम आइसोलेसनमा बस्ने कुरा जो छ । त्यो सामान्य विरामीहरुको लागि ठिकै हो । तर गम्भीर प्रकारका बिरामीहरुलाई त्यो सम्भव छैन । दैनिक स्वास्थ्यकर्मीहरुको निगरानी आवश्यक हुन्छ । अहिले कोहलपुर नगरपालिकाले पनि स्वास्थ्यकर्मी खटाएको छ । त्यहाँबाट केही समस्याहरु बाहिर आइरहेका छन् । त्यसले ठिकै पनि गरेको छ । तर स्वास्थ्य सतर्कता भने अपनाउनुपर्छ । कतिपय अवस्थामा फोन आउछ । सबैको पुग्न सम्भव नै हुदैन । त्यही भएर होम आइसोलेसनलाई प्रभावकारी बनाउनुपर्छ ।

पहुँच नभएर बिरामीलाई भर्ना हुन सक्ने अवस्था छैन । मृत्यु हुनेमा केही केस त्यस्ता पनि छन् । पावरको चलखेल छ । आफूले दिइरहेको सेवा प्रति सन्तुष्ट छैनौ हामी । अन्त्यमा म सम्पूर्णलाई सरोकारवालाहरुलाई अभूतपूर्व एकताका लागि आह्वान गर्न चाहन्छु । अस्पताललाई सुविधा सम्पन्न बनाउनुपर्छ । लोकल लेबलमा सबैको सहयोग र सहकार्य आवश्यक छ । मास्क लगायौ, सामाजिक दुरी कायम गरौँ । निषेधाज्ञाको पूर्ण पालना गरौँ ।सम्पूर्ण नगरबासीहरुको सु स्वास्थ्य लाभको कामना छ ।
( इमेलखबरका लागि डाक्टर बिसीसँग शुभाकर विश्वकर्माले गरेको कुराकानीमा आधारित)