कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ८६ मा कोरोना पुष्टि

बैशाख ९, सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एकैदिन धेरे जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा बिहिबार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा ८८ जनाको पीसीआर परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुर्खेतमा पछिलो केही दिनयता कोरोना भाइरसको संक्रमित तिव्र देखिएको छ । भारतबाट फर्किएकाहरु गाउँ प्रवेश गरेसँगै संक्रमितको दरमा पनि बृद्धि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले लामो समयपछि धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसअघि सुर्खेतमा एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुर्खेतमा हाल दुई सय ६ जनामा कोरोना संक्रमित छन् ।