प्रत्यक्ष पढाइ स्थगन गर्न मेचीनगरको आग्रह

वैशाख ७, काठमाडौ – कोभिड–१९ को सङ्क्रमण बढेसँगै मेचीनगर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयलाई वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष पढाइलाई स्थगित गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर वैशाख मसान्तसम्मका लागि प्रत्यक्ष सिकाइ स्थगित गरी वैकल्पिक प्रणालीबाट विद्यालयलाई पढाइमा सहजीकरण गर्न आग्रह गरेको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले हस्ताक्षर गरेको सूचनामा शिक्षकका पेशागत संस्थाका प्रतिनिधि, निजी शिक्षण संस्थाका प्रतिनिधिसँग छलफल गरी नेपाल सरकारको यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले सो निर्णय गरिएको जनाइएको छ । सूचनामा शैक्षिक सत्र २०७७ सालको वार्षिक परीक्षा नगरपालिकाको सूचनाबमोजिम गर्ने व्यवस्थाका लागि पाठ्यवस्तुको सहजीकरण सञ्चालन गर्न र कक्षा ८ र १० बाहेकका परीक्षाका लागि तयारी अवस्थामा रहन सबै सरोकारवालामा जानकारी गराइएको छ ।