त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला  : नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

बैशाख ७, काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला  अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए भने बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । आजको खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे भने सोमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुईरदुई विकेट लिए । आजको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । आजको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल कुर्नुपर्ने भएको छ । नेदरल्याण्ड्सको पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ ।