टुकी बाल्ने तनहुँका दुई पालिकाका तीन वडामा बिजुली

बैशाख ७, तनहुँ  – टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।

बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् बिस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए।

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिराका कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् बिस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।

जिल्लाको देवघाट र ऋषिङगाउँपालिका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, “देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।” उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।