सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

बैशाख ७, महोत्तरी – चैते दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँको बेला गरी दुई पटक मात्रै खोलिने गरेको यो मन्दिर आज एकाबिहानै चैत्र अष्टमी÷नवमीको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

वर्षमा दुई पटक मात्र खुला गरिने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन । उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैन तर असोज र चैत महिनाको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ ।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निक्कै प्रसिद्ध छ । दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनले पुनः माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको पूरा हुने जनविश्वास रहेको छ ।