आलोपालोको कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

बैशाख ३, काठमाडौँ  –  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयबाट जारी भएको विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा आज बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सबै विद्यालयले स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न आग्रह गरेका छन् । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएम) ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकारसमेत रहेको उनको भनाइ छ ।

शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । उनले स्वाथ्य मापदण्डलाई कडाइकासाथ पालना गर्न समेत आग्रह गरेका छन् ।

विज्ञान सचिव डा सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने बताए । उनले पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्ष मुनिका युवालाई सङ्क्रमण देखिएको भन्दै सबै क्षेत्र गम्भीर हुनुपर्ने बताएका छन् ।
यस्तै मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढ्दो अवस्थामा रहेको र त्यसबाट विशेषतः विद्यालय जाने उमेर समूहका विद्यार्थीमा सङ्क्रमण फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ ।