स्वास्थ्य बिमा बिस्तार हुदै,थप ६ जिल्लामा सञ्चालन

 

चैत २६, काठमाडौं नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम ७५ जिल्लामा पुगेको छ । स्वास्थ्य बीमा दिवसको अवसरमा थप ६ जिल्ला थपिएसंगै उक्त कार्यक्रम ७५ जिल्लामा पुगेको हो । थप जिल्लाहरु ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै थप ६ जिल्लामा कार्यक्रम बिस्तार गरिएको घोषणा गरे । यसका साथै स्वास्थ्य बिमा नागरिक एपमा पनि समावेश गरिएको उनले बताए । मन्त्री त्रिपाठीले स्वास्थ्य बिमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । उनले भने उनले भने,“अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस् । आफ्नो संस्था आफैले सुदृढ गर्ने काममा लाग्नुहोस् । विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।”

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्यबीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसँगै स्वास्थ्यबीमा कार्यक्रम बुधबारबाट ७५ वटा जिल्लामा लागू भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जनासम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँछन् । बुधबार थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।