उनापानीमा धारा

चैत २१, काठमाडौँ – लामो समयदेखि कुवाको पानी खान बाध्य हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका वासिन्दाले धाराको शुद्ध पानी पिउन थालेका छन् ।

गाउँपालिका–३ को उनापानीको पाँधे लेकमा रहेका नागरिकले शुक्रबारबाट धाराको शुद्ध पानी पिउने सुविधा पाएको स्थानीय छक्क फडेराले बताए । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र ग्रामीण जनउत्थानको प्राविधिक सहयोगमा खानेपानी निर्माण गरिएपछि उक्त ठाउँका स्थानीय खुशी भएका छन् ।

शुक्रबारबाट धारामा पानी झरेपछि सम्पूर्ण नागरिकले सो सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । सो ठाउँको गुसाँ मूलको पानी ल्याएर पाँधेलेकमा झार्दा यहाँका स्थानीय पानीको स्रोतमा जोडिएका हुन् ।