‘ओली सच्चिए मात्रै एमाले सुदृढ बन्ने सम्भावना छ’-नेता भूसाल

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी एमालेको विवाद उत्कर्षमा छ । केन्द्रको विवाद अहिले देशभर देखिन थालेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले केन्द्रमा समानान्तर कमिटी नै बनाएको छ । जिल्ला जिल्लामा दुवै पक्षले समानान्तर कमिटीबाट गतिविधि गरिरहेका छन् । माधव नेपाल पक्षले चैत्र ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेमा एमाले महासचिव इश्वर पोखरेलले उक्त भेलामा उपस्थित नहुन कार्यकर्तालाई निर्देशन नै जारी गरेका छ । अदालतले एमाले ब्युँताएपछि सत्ताधारी एमालेमा स्पष्ट रुपमा दुइ खेमा देखिएको छ । तत्कालीन नेकपाको विवादको बेला एकता अभियान थालेका उपाध्यक्ष बामदेब गौतम अहिले पनि तठस्थ छन् । यद्यपी उनको पद ओली पक्षले खोसिसकेको छ । नेपाल पक्षको राष्ट्रिय भेलाको उद्देश्य, एमाले विवादको कारण, एकताको सम्भावना र पछिल्लो  राजनीतिक घटनाक्रमका विषयमा एमालेका नेता बेदुराम भूसालसँग इमेलखबरले गरेको कुुराकानी-

नेकपा एमालेको पछिल्लो विवादको कारण के हो ?

देशमा अहिले के के भइरहेको छ । तपाईलाई राम्रैँसग थाहा छ । हामीले गरेको पार्टी एकता भंग भयो । अदालतले एमाले र माओबादी नै ब्युताइदियो । अहिको आवश्यकता भनेको एमालेलाई एकढिक्का बनाउने हो । तर पार्टीको नेतृत्वबाटै आफ्ना पक्षका काखा र आफू इतर पक्षलाई पाखा लगाउने नीति लिनु भएको जस्तो देखिन्छ । उहाँ हाम्रो पार्टी विधान अनुसार चल्नु भएको छैन । उहाँले नियम मिच्नु भएको छ । उहाँ विधि अनुसार नचलेको समस्या निम्तिएको हो । उहाँ कै कारण विवाद भएको हो । ओली नसच्चिएसम्म विवाद समाधान हुने देखिदैन ।

त्यसो एमाले फुट्छ त अब ? 

त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा छ । उहाँको गतिविधिमा निर्भर छ । उहाँले पार्टीलाई एकताबद्ध बनाउन कत्तिको नेतृत्व खेल्नुहुन्छ भन्ने हो । उहाँका गतिविधि र अभिव्यक्ति हेर्दा पेलेरै, विधान विपरित जाने देखिन्छ । हामी फुटको पक्षमा छैनौ । एमालेलाई एकताबद्ध बनाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

तपाईँहरु चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकमा जानुहुन्छ ?

त्यो बैठक नै बैधानिक छैन कसरी जाने । त्यो ओली पक्षीय बैठक हो । एमालेको होइन । बैधानिक बैठक बोलाउने भए, पहिला सचिवालय बैकक आह्वान गरिनुपर्छ । एजेण्डा तय हुनुपर्छ । त्यसरी बैठक बोलाइएको छैन । त्यसैले हामी जाने कुरा नै आउँदैन ।

तपाईहरुले त समानान्तर कमिटी नै गरिसक्नु भएको छ,अहिलेको अवस्थामा छलफलको माध्यमबाट विवाद समाधान हुने अवस्था छ की छैन ?

यो कुरामा पनि ओली कै भरमा छ । उहाँले एमाले जोगाउन चाहनुहुन्छ की नाइ भन्ने हो । उहाँले छलफल चलाउन चाहनु भयो भने, छलफल पनि हुन्छ । मिलाउन चाहनु भयो भने मिल्छ । तर उहाँले चाहिरहनु भएको छ, विधान मिचेर अघि बढिरहनु भएको छ । त्यसले झन समस्या बढ्ने सम्भावना छ ।

माओवादी केन्द्रसँग एकताको सम्भावना कत्तिको छ नी ?

अहिले त्यस्तो कुरा छैन । हामीले त्यसविषयमा कुरा गरेका छैनौ । अहिलेको हाम्रो प्राथमिकता भनेको एमाले सुदृढ बनाउने हो । हामी यही अभियानमा छौ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नै भेला आयोजना गरिएको हो । भेलाले हाम्रो आगामी यात्रा तय गर्छ । देशभरका नेता कार्यकर्ताहरुको सुझाव र सल्लाह अनुसार हामी अघि बढ्छौ ।