काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो, वैशाखमा सम्पन्न हुने

चैत २, काठमाडौं  – काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ।

निर्माण अन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ। निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम गरिरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ ।

पुनःनिर्माणको सुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो। अहिले समस्या नभएकाले सहजरूपमा काम भइरहेको छ। विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि सुरु गरिएको हो।काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम सकी आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइने भएको छ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो। सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गएको इतिहासमा उल्लेख छ ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई चरणबद्धरूपमा आर्थिक सहयोग गरिसकेको छ। पुनःनिर्माणका लागि थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकता अनुरूप चरण चरणमा ल्याइएको छ।रासस