चलचित्र र नाटकबीच तुलना गर्न मिल्दैन – विपिन कार्की

फागुन २८, काठमाडौं -थिएटरबाट चलचित्रको यात्रा शुरु गरेका हुन् विपिन कार्कीले । नाट्यकर्मी, अभिनेता संगसंगै चलचित्र लेखनमा पनि उनी अब्बल छन् । नेपाली चलचित्रमा उनले ‘आचाय’ चलचित्रबाट डेब्यु गरेका हुन् । पशुपति प्रसादको भस्मे चरित्रले भने उनलाई चर्चित बनायो । लुट,जात्रैजात्रा,गोपी, प्रसाद लगायतका चलचित्रमा उनले अभिनय गरीसकेका छन् । उनै बिपिनसंग हामीले छोटो कुराकानी गरेका छौं ।

अहिले के गर्दै हुनुहुन्छ ?
प्रसाद चलचित्रको सिक्वेल बन्न लागेको छ । त्यसको तयारीमा व्यस्त छु ।

बाल्यकाल कसरी बिताउनुभयो ?

मेरो बाल्यकाल मोरङको बाहुनीमा सामान्य तरिकाले नै बित्यो । म सानैदेखि छुच्चो र चकचके स्वभावको थिएँ । अहिले सम्झदा रमाइलो लाग्छ ।

अभिनय मोह कसरी सुरु भयो ?

ब्याचलरको पढाइपछि फुर्सदको समयमा नाटक सिक्न थालें । साथीभाइको देखेर नै नाटक सिक्न थालेको हुँ । नाटक सिकेपछि म सडक नाटक हुँदै थिएटरमा प्रवेश गरें । थिएटरपछि चलचित्रमा अभिनय गर्न थालेको हुँ ।

पहिलो नाटक र चलचित्र कुन थियो ?

पहिलोपटक ०६३ मा थिएटरमा ‘ताराबाजी लैलै’ नाटक गरेको थिएँ । मेरो पहिलो चलचित्र भने ०६५ को ‘आचार्य’ हो ।

नाटक र चलचित्रमा अभिनय गर्न कुन सजिलो ?

चलचित्र र नाटक फरक विधा हुन् । दुवैमा अभिनय गर्न कठिन हुन्छ । यी दुईबीच तुलना गर्न मिल्दैन ।