सक्षम निजामती प्रशासनको अपरिहार्यता

 

दामोदर रेग्मी

फागुन २३, काठमाडौं  – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व हो । राज्यको यसै विशिष्ट दायित्वको आधारमा राज्य र जनताको सम्बन्ध स्थापित भएको हुन्छ । यसै सम्बन्धको कारणले राज्यको पहिलो दायित्व सेवा प्रवाहको प्रभावकारिता अभिवृध्दि गर्ने रहेको हुन्छ ।

सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिध्दान्तमा आधारित हुने भएकोले सेवा प्रवाहका उपरोक्त आधारशीला अनुरुपको सेवा प्रवाहको संयन्त्रको आवश्यकता पर्ने गर्दछ । यस्तो संयन्त्र सकारात्मक, सिर्जनशील, व्यावसायिक, परिणाममुखी र जनमैत्रीय हुनु आवश्यक हुन्छ ।सेवा प्रवाहको यस आयाममा निजामती सेवा सक्षम हुनु आवश्यक हुन्छ ।सेवा प्रवाहमा पालना गर्नु पर्ने प्रक्रिया पारदर्शी, तटस्थ र प्रतिबध्दता जस्ता स्वच्छताका गुणहरुलेयुक्त हुनु आवश्यक हुन्छ ।

सेवा प्रवाहको प्रभावकारिताको स्तरले सरकारको लोकप्रियताको स्तर निर्धारण गर्ने गर्दछ । सार्वजनिक सेवा प्रवाहमा दक्षता र प्रभावकारिताको स्तरले सुशासनको सही अवस्थाको चित्रण गरेको हुन्छ ।सुशासनले समृध्दिको यात्रालाई सहज बनाइदिन्छ ।सेवा प्रवाहको प्रभावकारिता वाट शासन प्रणाली प्रति अपनत्व सिर्जना गर्न र सुशासनको प्रत्याभूति गर्न निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहने गर्दछ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको छ दशक भन्दा लामो संघर्ष पश्चात देशले उच्चतम प्रजातान्त्रिक संघीय लोकतान्त्रिक संघीय शासन प्रणाली अवलम्वन गर्न पुगेको छ । परिवर्तित शासकीय व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको बहु सरकारको अवधारणा अनुरुप हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहहरुवाट हुने व्यवस्था भएको छ। संघीय संरचनामा प्रभावकारी सेवा प्रवाहको लागि सक्षम निजामती प्रशासन हुनु आवश्यक हुन्छ ।

निष्पक्षता, तटस्थता, तत्परता, सिर्जनशीलता, सकारात्मता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरुको क्षयीकरण वा कमजोर उपस्थितिले प्रशासन जनमैत्रीय वन्न नसक्ने मात्र होइनकि समग्र शासकीय परिपाटी नै आलोचनाको केन्द्र बन्न पुग्दछ । शासन प्रणालीलाईआलोचनावाट मुक्त बनाइ भरोसा र विश्वासयोग्य वनाउन सवै सरोकारवालाहरुको समान भूमिका रहन्छ यसमा मुख्यकर्ताको रुपमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहन्छ ।विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा संघीय शासन प्रणालीमा निजामती प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति अनिवार्य शर्त हो ।

निजामती प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपुर्ण भूमिका रहेको हुन्छ। प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ। प्रशासन सरकार र सेवाग्राही वीचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ। यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो।

प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता ले एकातर्फ सरकारले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियामा आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। यसर्थ सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको सम्वाहक हो ।परिवर्तित शासकीय परिवेशमा सिर्जनशील र सदाचारयुक्त निजामती प्रशासनले संघीय शासन प्रणालीलाई जनमैत्रीय वनाउन सक्दछ । प्रशासन सरकारको दर्पण हो । कुनै पनि सरकार त्यहांको प्रशासनयन्त्र भन्दा राम्रो हुन सक्दैनभन्ने सन्दर्भमा संघ, प्रदेश र स्थानीय तहमा रहेका निजामती प्रशासकहरुको भूमिका अझै थप प्रभावकारी र जनमैत्रीय हुनु आवश्यक हुन्छ । नेपालको निजामती प्रशासन आगामी दिनमा यस आयाममा प्रखर बन्दै जानु आवश्यक पनि छ ।

(दामोदर रेग्मी कुशल प्रशासक तथा संघीयताका विज्ञ हुन्)