स्मृति अक्षय कोषका लागि सहयोग

फागुन २२, काठमाडौँ- धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा रु ११ हजार १११ सहयोगको घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गरिएको यस कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हालसम्म कोष स्थापनाका लागि रु डेढ लाख बढी रकम सङ्कलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए ।

प्रेस युनियनले स्व पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । डिएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा उहाँको मृत्यु भएको पुष्टि भएको थियो । स्व पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए ।