सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति,हट्योे विप्लव समूहमाथिको प्रतिबन्ध

फागुन २०, काठमाडौं – सरकार र हिंसात्मक गतिविधि गर्दै आएको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ ।

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाइ सबै बन्दी रिहाइ गर्न सरकार सहमत भएको छ भने विप्लव समूहले पनि हिंसा छाडी सबै राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्न सहमति जनाएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

फागुन २१ गते बिहीबार दिउँसो २ बजे एउटै समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले सम्बोधन गरी सहमतिका विवरण सार्वजनिक गरिने भएको छ । सरकार र विप्लव समूहबीच बुधबार (फागुन १९) देखि जारी वार्ता बिहीबार सहमतिमा टुंगिएको थियो ।