नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

फागुन १२, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन्। प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेका छन् । उनि अभियानको संयोजकसमेत रहेकाछन् ।

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहेका छन् ।