सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै प्रदेशमा काम गर्दै आएको छ । ती शाखा मध्येको एक हो, मानव सेवा आश्रम सुर्खेत शाखा । यसले कर्णालीका १० जिल्लाका नागरिकहरुको उद्धार र व्यवस्थापन गर्छ । तर यस शाखाले भर्खरै मात्र लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा एक नागरिकलाई उद्धार गरेको छ । जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ४ शंखरियाका मानसिक सन्तुलन ठिक नभएका फुलाराम थारुको उद्धार गरेको हो । उनलाई विगत १० वर्षदेखि हातखुट्टामा फलामे साङलोले बाधेर गोठमा राखिएको थियो । आश्रमले यस्ता खालका ७० जनालाई उद्धार र व्यवस्थापन गरिसकेको छ । मानव सेवा कै सन्दर्भमा रहेर मानव सेवा आश्रम सुर्खेतका संयोजक तथा केन्द्रीय सदस्य सिर्जना वलीसँग इमेलखवरले गरेको संक्षिप्त कुराकानी –

मानव सेवा आश्रम सुर्खेतमा कसरी सुरु भयो, यसको पृष्ठभूमि बताइदिनुन ?

सुर्खेतमा २०७५ सालमा यसको शाखा स्थापना भएको हो । अहिले हामीले प्रदेशका सबै जिल्लालाई हेरिरहेका छौ । दुई वर्षअघि सुर्खेतमा एउटा अनुगमन टोली आएको थियो । अनुगमनपछि स्थानीय सरकार, प्रदेश सरकारसँग समन्वय गरेर स्थापना भएको हो । त्यहाँ पुगेपछि धेरै मानिसहरु सडकमा थिए । स्थापनापछि कर्णालीका दशवटै जिल्लाका नागरिकहरुको उद्धार र व्यवस्थापन गर्ने काम भइरहेको छ । अहिले त्यहाँ कर्णालीका हुम्ला बाहेक सबै जिल्लाका नागरिक छन् । करिब ७० जनाको संख्यामा त्यहाँ बालबालिका, युवा, महिला,पुरुष र बृद्धबृद्धा समेत रहेका छन् ।

मानव सेवा आश्रमले स्थानीय तथा प्रदेश सरकारबाट कत्तिको सहयोग प्राप्त गरेको छ ?

यी सरकारहरुका सरकार निकाय हुन् । हामीले मानव सेवा आश्रमको सुरुवातदेखि नै यहाँका स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै आएका छौ । अहिले पनि दुवै तहका सरकारले हामीले निकै ठुलो सहयोग गरिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले त हाम्रो घरबाट तिरिदिएको छ । उहाँहरु निकै सहयोगी हुनुहुन्छ । प्रदेश सरकारले व्यवस्थापनमा निकै ठुलो सहयोग गरिरहेको छ । अहिले प्रदेशभरका स्थानीय तहहरुले हामीलाई सहयोग गरिरहनु भएको छ । पहिला हाम्रो कुरा नै नसुन्ने पालिकाहरु समेत अहिले हामीसँग सहकार्य गर्न तयार हुनुहुन्छ । हामीले त्यहाँबाट मानिसहरु ल्याउन थालेपछि सबैलाई मानव सेवा आश्रमले राम्रो काम गरिरहेको छ भन्ने लागेको हुनुपर्छ । सहयोग राम्रो छ ।आगामी दिनमा पनि हामीले उहाँहरुले सहयोगको अपेक्षा गरेका छौ ।

मानव सेवा आश्रमले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरिरहेको छ, अभियानको उद्देश्य बारे पनि बताइदिनुन ?

मानव सेवा आश्रमले २०७८ सालको अन्त्यसम्म शारिरीक तथा मानसिक रुपमा कमजोर रहेका, बेसाहाराहरु मुक्त देशको लक्ष्य सहित अगाडि बढेको छ । यसको लागि सबै मेहेनतका साथ लागेका छौ । सोही अभियान अन्तर्गत भर्खरै मेची –महाकाली अभियान सञ्चालन गरेको थियो । यसबाट हामीले धेरै मानवहरुको उद्धार गरेका थियौ । सडक मानव मुक्त देश हाम्रो अभियानको मुख्य उद्देश्य हो ।

मानव सेवा आश्रमले के के काम गर्दै आएको छ ?

मानव सेवा आश्रमले घर, परिवार र आफन्त कोही पनि नभएकाहरुको सेवा गर्दै आएको छ । बाध्यत्मक अवस्थामा पीडादायी र बेवारिसे जीवन बिताइरहेकाहरुको उद्धार र व्यवस्थापन समेत गर्दै आएको छ । शसक्त, असहाय भएका हरेक उमेर समूहका व्यक्तिहरुको उद्धार र उपचार, पालनपोषण र पारिवारीक पुर्नमिलन समेत हामीले गर्दै आएका छौ । साथै यस्ता मानिसहरुलाई सडकमा आउन नदिनको लागि विभिन्न माध्यमबाट जनचेतनामुलक कार्यक्रम हामी गरिरहेका छौ ।

मानव सेवा आश्रम देशका कुन कुन ठाउँमा छ ?

मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौडामा रहेको छ । यसको सुरुवात २०६९ भाद्र १३ गते भएको हो । हाल मानव सेवा आश्रमको १६ वटा जिल्लामा शाखा छन् । २३ वटा केन्द्र रहेका छन् ।

अन्त्यमा, सेवामुलक तथा सामाजिक क्षेत्रमा काम गर्दा के कस्ता चुनौती व्यहोर्नु पर्दो रहेछ वताइदिनुस न?

समाजमा हरेक काम गर्दा समस्या पैदा हुन्छन् । त्यो स्वाभाविक पनि हो । हामीलाई पनि पहिला काम गर्दा केही समस्या तथा चुनौतीहरु देखा परेका थिए । ती सबै कुराहरुलाई हामीले सामना गर्दै गयौ । भेस गर्दै गयौ । हामीलाई कुनै पनि दातृ निकाय अथवा सरकारको प्रत्यक्ष सहयोग हुँदैन । हामीलाई मानिसहरुले स्वतस्र्फूत दिएको सहयोगबाट हामी चलिरहेका छौ । धेरै कसैको सम्झनामा, जन्मदिनमा ,विहेको अवसरमा आश्रममा आएर सहयोग गर्नुहुन्छ । हामीलाई प्रमुख चुनौती भनेको उद्धार गरेकाहरुको व्यवस्थापन हो । कर्णालीमा पछिल्लो समय हाम्रो कामलाई धेरैले बुझ्दै आउनु भएको छ । चुनौतीले अघि बढ्ने प्रेरणा दिएको छ ।