भवन शिलान्यास

फागुन ९, काठमाडौँ – थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले सहकारी संस्था लिमिटेडको दुईकोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको जानकारी दिए ।

प्रदेशको सांसद कोषबाट आएको रु पाँच लाख बजेटको एक लाख ७५ हजारमा जग्गा लिइएको संस्थाका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए ।

भवन निर्माणका लागि आर्थिक सहयोगको अपेक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्कीले बताए । विसं २०७२ देखि सञ्चालित सो संस्थामा ४९२ शेयर सदस्य तथा शेयर पूँजी पाँच लाख ३६ हजार ५०० छ । संस्थाको कूल पूँजी रु ४८ लाख ३७५ रहेको सह प्रबन्धक रेखा रोकायाले जानकारी दिए ।

संस्थामा विभिन्न किसिमका बचत बाल बचत, ऐच्छिक, पेवा, वृद्ध, ग्रसु पेन्सन बचतलगायतका सेवा रहेका छन् । पहिला भाडाको घरबाट सेवा दिइरहेको सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोवार सञ्चालन सहज हुनेसमेत उनले बताए । रासस