भागरथि हत्याकाण्ड –बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले

फागुन ७,काठमाडौ  –  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् ।

विहिबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए। बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर विहिबार दिनेशका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन् ।
यस्तै बयानका क्रममा दिनेशले घटनास्थलमै भागरथीको घडी पनि रहेको बताएका थिए । दिनेशले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो । दीपकराजले भने, ‘पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ ।’

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।