सरकारको तीन वर्षका उपलब्धिबारे प्रधानमन्त्रीको पत्रकार सम्मेलन

फागुन ३, काठमाण्डौँ – सरकारले गरेको तीन वर्षका उपलब्धिबारे प्रकाश पार्न आज सोमबार प्रधानमन्त्री केपी शर्माले पत्रकार सम्मेलन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रममा आफू सधैं सत्तामा नरहने पनि बताएका छन्। पुनर्निमाण सम्पन्न भएको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका तीन वटा मोहडाको उद्घाटन गर्ने क्रममा तथा सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सोमबार प्रेस ब्रीफिङ गर्दै उनले यस्तो बताएका हुन्।

आफ्नो नेतृत्वको सरकारको ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’ सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कदम प्रतिगमन नभएको तर्क गरे।

उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको दोहोर्‍याउँदै प्रश्न गरे – ‘के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ? ’

उनले संसदीय दलमा आफूविरूद्ध कुनै उजुरी नलगाई ‘एक जना व्यक्तिको लाञ्छनापत्रको’ आधारमा आरोप लगाएको दाबी गरे।
प्रधानमन्त्री ओलीले संसदीय समितिमा अनावश्यक छलफल हुने, संसद्‌मा प्रस्तुत भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत नहुने गरेको आरोप लगाए।

‘एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नुपर्ने र अर्कोतर्फ आफ्नै खुट्टा अल्झिएजस्तो भएको’ अवस्था आएपछि संसद विघटन गर्नुपरेको र निर्वाचनमा जानुपरेको उनको तर्क थियो।

उनले आफ्नै दलका साथीहरूले काम गर्न नदिएको दोहोर्‍याउँदै त्यसको प्रत्यक्ष असर व्यवस्थापिकामा पर्न नदिन आफूले निर्वाचनको घोषणा गरेको स्पष्ट पारे।

संसद् विघटनअघि आफूले धेरैपल्ट सोचेको र त्यस्तो अवस्था नआओस् भनेर अन्तिम अवस्थासम्म समेत प्रयास गरेको भन्दै उनले पुस ५ को कदम चालेको बताए।

ओलीले वैकल्पिक सरकारको कुनै सम्भावना नदेखिएको, विभिन्न समीकरणका खेलहरू सुरु हुने र देश अस्थिरतातर्फ जाने सम्भावना भएकोले त्यसबाट देशलाई जोगाउन आवश्यक रहेकाले प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको अर्को खेलमैदान नबनाउन यो कदम चालिएको प्रधानमन्त्रीले दाबी गरे।