नारी आन्दोलनका चुनौतीहरू

फागुन ३, काठमाण्डौँ – अस्ति शुक्रबार काठमाडौंमा महिला मार्चमा युवा कवयित्री सपना सञ्जीवनी मैथिली कविता पाठ गरिरहेकी थिइन्–

‘हे राम कान खुइल क सुन
तोहर पुरुषवादी अहंकार के बोझ के चल्ते
हम आब धरती के भितर नइँ धसबौ ।
रे ब्रह्मा १ कान खोइल क सुन
तोहर घृणित वासना के सिकार नइँ बनबौ
अपन बाप कहीँ क डरे चुपचाप नइँ रहबौ
तोहर आँइख नोइच क ब्रह्मा, ओतही अपन हाथ से तोहर
बध करबौ ।’

कवयित्री सपनाले यो कविता पढिरहँदा उनले वर्तमान पौरुषेय समाजमा दमित नारीको घृणित स्थितिप्रति क्षोभ र आक्रोश त व्यक्त गरिरहेकी नै थिइन्, सँगसँगै हिन्दू समाजमा स्वीकार्य र स्थापित प्रतिमानमाथि पनि प्रहार गरिरहेकी थिइन् । राम कथाकी नायिका सीता नेपाली समाज र विशेष गरी मैथिली समाजमा आदर्श नारीका रूपमा स्थापित छिन् । तर, सीता नारी जीवनका निम्ति त्रासद पात्र पनि हुन् । मिथिलामा आफ्ना प्रिय मिथकीय छोरी सीताबारे एउटा उदास भनाइ प्रचलित छ– ‘सीता क जनम विरोगे गेल, सुख छाडी सुख सपनहु नइँ भेल ।’ जीवनभरि रामको पौरुषेय सिकार हुँदै आएकी सीताको मौन विद्रोह भनेको धर्तीमा समाउनु मात्र थियो ।

आफ्नै बाबु ब्रह्माबाट बलात्कृत सरस्वतीको स्थिति त झन् दारुण छ । सरस्वती पुराण र मत्स्यपुराण यस दारुण कथाको साक्षी छ । सरस्वती जब आफ्ना बहिनी र भाइसहित पिताको परिक्रमा गरिरहेकी थिइन्, पिता ब्रह्मा उनको रूपप्रति आकर्षित भए र उनीसँग सहवास गर्ने इच्छा व्यक्त गरे । यस कुकृत्यबाट उनलाई रोक्न खोज्ने सबै प्रयत्न व्यर्थ भयो ।

‘अस्मिता’ जोगाउन र लुक्न सरस्वती चारै दिशामा दगुरिन्, तर पञ्चमुखी ब्रह्माले आफ्नो चारवटै टाउकाको आँखा खोलेर उनलाई खोजी छाडे । त्यसपछि उनी आकाशमा गएर लुकिन । ब्रह्माले पाँचौँ टाउकाको आँखा खोलेर उनलाई त्यहाँबाट पनि खोजे, बलात्कार गरे र अन्ततः पत्नी नै बनाए । मनु यिनकै सन्तान हुन् ।

यस कथामा अर्को रोचक न्याय प्रसंग पनि छ– ब्रह्माको यस कुकृत्यबाट कुपित शिवले दण्डस्वरूप उनको पाँचौैँ सिर काटे र उनको पूजा गर्ने कार्यमा रोक लगाइयो । राणाकालमा बाहुनले जतिसुकै अपराध गरे पनि चारपाटे मुँडेर सुँगुरको पाठो बोकाउनु उनका निम्ति सबैभन्दा ठूलो दण्ड भनिएजस्तै । यस न्याय पद्धतिको कसले विरोध गर्ने रु देवाधिदेव महादेवले नै न्यायको परिभाषा स्थापित गरेपछि १

अचम्म १ कम्तीमा दुई हजार वर्षपहिले रचिएका यी पौराणिक र महाकाव्यीय प्रसंग समकालीन कथाजस्तै अनुभूत हुन्छन् । हाम्रो समाजमा घटिरहेको घटनाजस्तो । हामी उही दैवीय न्याय परम्परामा छौँ र त पीडित पक्षका सरकारी वकिललाई बहसविना नै बलात्कारको आरोपी चतराधामका सिद्धबाबा भनिने कृष्ण गिरीलाई सफाइ र स्वेच्छाले शरीर अर्पण गरेको भनेर पीडितालाई नै लाञ्छित गर्ने फैसला सुनाइन्छ । सिद्धबाबाले आफूले कहिल्यै स्त्रीसम्पर्क नगरेको भनेर बयान दिएको तथ्यलाई ‘स्वेच्छाले शरीर समर्पण गरेको’ भनेर उपेक्षा गरिन्छ । जबकि म्यासेन्जर कल गरेर दीक्षा दिन पीडितालाई बोलाइएको र बलात्कार गरिएको कुरा वस्तुस्थितिले प्रस्ट भनिरहेको छ ।

अझ एउटा कल रेकर्डमा सिद्धबाबाले ‘आफूबाट गल्ती भएकाले माफी मागेको र अब यस्तो हुँदैन’ भनेर गरेको रोइलोले उनको कुकर्म पुष्टि गरेको पनि देखिन्छ । पीडिताले स्वेच्छाले शरीर समर्पण गरिएको भनिए पनि यो गुरुलाई समर्पण गरेर पुण्य, मोक्ष र देवमा विलीन भएको मनोवैज्ञानिक सम्मोहनको स्थिति त अवश्य नै स्थापित हुन्छ १ र अवशको स्थितिमा गरिएको यौनसम्पर्क बलात्कार नै त हो १ तर, प्राविधिक कानुनी फैसला गर्नेले यो नदेख्न पनि सक्छ ।

यसका निम्ति त पौरुषेय विवेकमुक्त मानवीय दृष्टि चाहिन्छ । तर, कसले बोल्ने रु यो पनि ब्रह्माको मामिलामा शिवले न्याय गरेजस्तै हो, पौरुषेय न्याय । ती हजारौँ वर्षपहिलेका देवहरू मन्दिरमा अहिले पनि स्थापित भएजस्तै सिद्धबाबाले पनि चतराधाममा वैरागको उपदेश दिएर फेरि भक्तलाई मक्ख पार्ने नै छन् । किनभने हाम्रो समाज अहिले पनि रूपमा लोभिने समाज हो ।

भागरथी र निर्मलाको बलात्कारी हत्यारा अहिलेसम्म पनि खोज्न नसकिएको प्रशासनिक अक्षमताको प्रमाण त छँदै छ, यो त्यसभन्दा पनि स्खलित सामाजिक सोचको प्रमाण पनि हो । हाम्रा समाजमा यी पौराणिक र महाकाव्यीय पति र पिताहरू अहिले पनि सामाजिक आदर्शका पात्र र विभूति बनेर स्थापित छन् । किन मक्किएका पात्र, परम्परा र चिन्तनका यी पौरुषेय प्रतीक देउताका मन्दिर सबैभन्दा पवित्रस्थलका रूपमा समाज र सामाजिक मनमा स्थापित छन् रु

कवयित्री सपनाहरू र महानगरमा बस्ने नारी अस्मिताबारे आधुनिक चिन्तन र उच्चशिक्षा प्राप्त नारी अधिकारवादीका निम्ति यी पुरातन प्रतीक र अविवेकी पौरुषेय न्यायविरुद्ध आक्रोश व्यक्त गर्न सजिलो छ । तर, नेपालको आत्मा भनिने गाउँमा स्थिति सजिलो छैन ।

निर्मला र भागरथीका कथाहरू देखिने कथा मात्र हुन्, होइन भने नेपाली समाजमा यस्ता कुकृत्य हरेक दिन हुने गर्छन् र यसमध्ये कैयौँ गाउँघरमा छल, बल र कलले मिलाइन्छ, जसमा पुरोहित, प्रशासन र समाज सबै सामेल हुने गर्छ । सपना तराई–मधेसकी मैथिलीभाषी समुदायकी चेली हुन् । उनलाई पनि थाहा हुनुपर्छ, चतराधामका एउटा सिद्धबाबा होइन, प्रायः सबै मन्दिरमा यस्ता सिद्धबाबाहरू हुने गर्छन् । स्त्री र सहवासबाट आफूलाई विरक्त देखाउने वैरागीकुटीका महन्थ र पुजारीहरू खुलेआम अवैध पत्नी राखेर बसेका छन् । तर, पनि उनी पूजित नै छन् । सरकार, मन्त्री, प्रशासन र न्यायाधीशहरूसमेत त्यस्ता मन्दिरमा गएर दर्शन गर्छन् र यी महन्थ र पुजारीहरूबाट टीकोटालो लाएर आशीर्वाद लिन्छन् ।

समाजको यसै पछौटे चेतनाको परिणाम हो कि चुनावी राजनीतिमा भोटब्यांक निर्माण गर्ने दाउमा आफूलाई भौतिकवादी र मार्क्सवादी भन्ने पार्टी र नेताहरूसमेत यिनै पौरुषेय राम, कृष्ण, शिव र ब्रह्माजस्ता प्रतीक पुनस्र्थापनामा लागेका देखिन्छन् ।

हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको पर्सामा अयोध्याधामको ढिपी, राम र सीताको मूर्तिसामु गर्वोन्नत फोटो खिचाउनु, र पशुपतिमा पूजापाठ गर्नु यस्तै धर्मभीरु समाजलाई चुनावी बहुमतका निम्ति आफ्नो पक्षमा तान्ने तिकडम मात्र हुन् । यो ओली मात्रैको विषय होइन्, यस संसदीय राजनीतिको स्नानगृहमा प्रायः सबै नांगा छन् । फेरि यो स्थिति कुनै एउटा धर्मको मात्र पनि होइन, सबै धर्ममा यस्तै पौरुषेय प्रतीक, चिन्तन र सामाजिक चेतनाको वर्चस्व छ ।

यस पौरुषेय चिन्तन र सामाजिकताबाट विवेकपूर्ण मुक्तिको बाटोमा चुनौती धेरै छन् । पहिलो त नारी अधिकारको आन्दोलनमा विद्यमान नवउदारवादी चिन्तन हो, जसले पहिलो त ती पुराना पौरुषेय देवलाई समयसापेक्ष सुधारेर प्रस्तुत गर्ने प्रयत्न गर्छ र दोस्रो, अधिकारवादी आन्दोलनमा ती उपभोक्तावादी बजारका मोडेल विश्व सुन्दरीहरू र खेलाडी आइकनहरू हुन्, जसले आधुनिकताको नाममा पुरुषलाई रिझाउनका निम्ति सुन्दर देखिन सौन्दर्य प्रसाधन र विलासिताको प्रचार गर्छन् र पुराना पौरुषेय देवको ठाउँमा नयाँ आधुनिक मिथ खडा गर्न खोज्छन् ।

यस नयाँ प्रयत्नमा कार र मोटरसाइकललाई पनि यसरी प्रस्तुत गरिन्छ, मानौँ यो कुनै मस्तकी वासना जगाउने युवती होस् १ स्त्री स्वातन्œयको नाममा यो विकृत मानसिकता निर्माणले पौरुषेय मानसिकताको नयाँ मिथ खडा गर्छ ।
नारी अधिकार आन्दोलनको अर्को चुनौती वैचारिक रूपमा आन्दोलनमा सक्रिय महिलानेतृको समृद्ध र विलासी जीवनशैली पनि हो, जसले पारम्परिक पुरुषोचित शोषण र दमनको चंगुलमा फसेको महिला समुदाय, जसको जीवनशैली सामान्य र अभावग्रस्त छ, उनीहरूभित्र एउटा अपरिचयको स्थति निर्माण गर्छ ।

त्यसरी नै नारी अधिकारको आन्दोलनभित्रको एउटा चुनौती सामाजिक परिवर्तनको वैचारिक संघर्षभन्दा पनि कुनै वैदेशिक एनजिओबाट सञ्चालित आर्थिक वृत्तिको साधनका रूपमा विकसित हुनु पनि हो । आर्थिक उपार्जनका साधन बनिरहेका यस्ता अधिकारवादी आन्दोलनका अगुवा जोखिमबाट बच्ने तथा सम्झौता र सुधारमै सन्तोष गर्नु पनि स्वाभाविक नै हो ।

चतराधामका एउटा सिद्धबाबा होइन, प्रायः सबै मन्दिरमा यस्ता सिद्धबाबाहरू हुने गर्छन् । स्त्री र सहवासबाट आफूलाई विरक्त देखाउने वैरागीकुटीका महन्थ र पुजारीहरू खुलेआम अवैध पत्नी राखेर बसेका छन्, तर पनि उनीहरू पूजित नै छन् ।

यस समग्र चुनौतीबीच, त्रासदी भनेको समाजमा वैचारिकस्तरमा विद्रोहात्मक प्रतीक उपेक्षित हुनु हो । समस्या कहाँ छ भने नारी आन्दोलनका अगुवासमेत यी विद्रोहात्मक प्रतीकको स्थापनाप्रति उदासीन देखिन्छन् अथवा यस्तो जोखिम मोल्न चाहँदैनन् । हाम्रो इतिहासमा नारी सामथ्र्यका गौरवमय वैयक्तिक र सामाजिक उदाहरण प्रशस्त छन् ।

राजनीतिक आन्दोलनमा जस्तोसुकै यातना सहेर पनि आफ्नो वैचारिकताबाट विचलित नहुने नारी पात्रहरू, जेलमा सुरुङ खनेर आफू मात्र होइन, पुरुष साथीहरूलाईसमेत मुक्त गराउने नारी योद्धा, सगरमाथा चढ्ने साहसिक नारीहरू, माओवादी जनयुद्धमा पुरुषको काँधमा काँध मिलाएर मुक्ति संघर्ष लडेका नारी जनमुक्ति सेनाहरू, पुरुषसँग समानताका वैचारिक प्रयत्न, तथ्य, आग्रह र वैचारिक नारी संघर्ष आधुनिक नारी सामथ्र्य र सौन्दर्यका प्रतीक हुन् । तर, यी सबै उपेक्षित छन् । तर, हाम्रो सामुदायिक चिन्तनको दिशा उल्टो छ ।

समकालीन नारी सौर्यका यी प्रतीकको प्रयोगले पौरुषेयका पुरातन धरातल ध्वस्त गर्ने सामथ्र्य राख्छ । तर, यसका निम्ति त सोचको दिशा नै बदल्नुपर्ने हुन्छ र यो आवश्यक पनि छ ।नारी मुक्तिको अहं चुनौती पुरुषको विकल्पका रूपमा एकल चिन्तनको नारीवाद हो । यो भनेको पुरुषलाई शत्रुवत् हेर्नु हो । सही दृष्टिकोण भनेको नारी र पुरुषबीच समानताको स्थिति हो ।

निश्चय नै पारम्परिक रूपमा श्रम विभाजनमा अधिकांश अर्थालाभपूर्ण कार्यबाट कटाइएकी बहुमत नारी समुदाय सामाजिक, राजनीतिक र सांस्कृतिक सबै स्तरमा दोयम रूपमा उपेक्षित छिन् । भागरथी र निर्मलाको पक्षमा गरिएका आन्दोलन गर्नैपर्ने कार्यहरू हुन् । तर, यस्ता प्रयत्न भावनात्मकभन्दा पनि दीर्घकालीन, सुनियोजित मिसनका रूपमा सञ्चालित गर्नुपर्ने देखिन्छ ।

अन्ततः चेतनायुक्त नभएसम्म र नारी र पुरुषको समान हैसियत र अवसरयुक्त समाज निर्माण नभएसम्म बलात्कार, यातना, दमन, उत्पीडन र उपेक्षाका घटना रोकिनेछैनन् । यसका निम्ति राजधानी र सहरमा र शिक्षित वर्गमा मात्र होइन, ग्रामीण क्षेत्रमा समेत उनीहरूले पत्याउने गरी राजनीतिक सचेत आन्दोलन चलाउन आवश्यक छ । तर, यसका निम्ति अगुवाले देखिने र अनुभूत गर्ने गरी पुरातन चेतनासँग पूर्णतः सम्बन्धविच्छेद गर्नु जरुरी छ ।

            -नयाँ पत्रिकाबाट साभार