प्रदेश १: नेकपा विवादले संसद् बैठक सुरु भएन

माघ २५, काठमाण्डौँ – आइतबार दुई बजेका लागि बोलाइएको प्रदेश १ संसद्को बैठक अझै सुरु हुन सकेको छैन। ११ बजेदेखि जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपाका दुई समूहको कुरा नमिल्दा बैठक ढिलाइ भएको हो।

मुख्यमन्त्री शेरधन राईविरूद्ध उनकै दलका बहुमत सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव टेबल हुने भनिएको आजको बैठक कतिबेला सुरु हुन्छ भन्ने यकिन नभएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

कार्यव्यवस्था बैठकमा मुख्यमन्त्री शेरधन राई पक्षले आफूले निलम्बन सिफारिस गरेका १६ सांसदलाई प्रवेश दिन नहुने अड्डी लिइरहेको छ। अर्को पक्ष भने अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको बताइरहेको छ।

माघ ७ मा तीन मिनेट चलेर सुरु हिउँदे अधिवेशन त्यसपछि एकैचोटी आज बस्न लागेको हो ।