अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा

माघ २३, काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।

छ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि खाद्यान्न, औषधि र बस्ने ठाउँको आवश्यकता रहेको छ । जारी यस युद्धका कारण यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले विदेश नीतिको विषयमा दिनु भएको पहिलोपटक वक्तव्य यमनमा युद्ध अन्त्य हुनु पर्ने बताएका छन् ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, बेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो । बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाही रोक्ने र त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरु बेच्न कार्यमा रोक लगाइसकेको छ ।रासस/सिन्ह्वा