‘काँग्रेस संसद पुनःस्थापनाको पक्षमा सडकमा छ।’ -युवा नेता काफ्ले

माघ २०, काठमाडौं  – प्रतिनिधि सभा विघटन भएको एक महिना पुरा भइसकेको छ । उक्त मुद्धामा अझै सर्वोच्चमा विचाराधिन छ । सबैको पखाई उसको निर्णयमा नै केन्द्रीत छ । तर प्रतिनिधि सभा विघटनको पराकम्पनको रुपमा सत्ताधारी नेकपा अर्ध विभाजित अवस्थामा छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसद विघटनको विरोधमा छ । अधिकांस दल, नागरिक समाज, लेखक तथा बुद्धिजीवीहरु आन्दोलनमा छन् । उनिहरुको भनाइ छ, प्रतिनिधिसभा विघटन असंवैधानिक कदम हो । यो सच्चिनुको विकल्प छैन ।

हरेक आन्दोलनमा युवाहरुको पनि भूमिका महत्वपूर्ण हुन्छ । व्यवस्था परिवर्तन र रक्षाको लागि नागरिक आन्दोलनमा युवाहरुले भूमिका खेल्दै आएका छन् । यस्तै विषयमा केन्द्रीत रहेर संसद विघटन पछिको राजनीतिक अवस्था, प्रमुख प्रतिपक्ष दलको भूमिका र युवाहरुको भूमिकाहरुका बारेमा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेसँग इमेलखवरले गरेको कुराकानी –

पुस ५ पछिको नेपालको राजनीतिक परिदृष्यलाई कसरी हेरीरहनु भएको छ ?

यो कदम वर्तमान नेतृत्वको सनकका कारण चालिएको हो । केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक समस्या समाधान गर्न नसकेर व्यवस्था माथि प्रहार गरेका छन् । म प्रधानमन्त्रीले संसद विघटन गर्नुपर्ने कुनै कारण नै देख्दिन । यो जनभावना विपरित, संविधानको मर्म विपरितको कार्य हो । यो लोकतन्त्रको मूल्य र मान्यता विपरित छ । यसले हाम्रो व्यवस्था माथि प्रहार गरेको छ । यसले नेपाली जनताले लडेर, ज्यानको बलिदानी दिएर ल्याएको व्यवस्था र संविधान नै खतरामा परेको छ । देशको शासकबाट व्यवस्था माथि खतराका संकेत देखा पर्नु मुलुक र जनताको लागि अत्यन्त दुःखत हो । उहाँ हिजो देखी नै गणतन्त्र विरोधी हुनुहुन्थ्यो । आफै त्यो कुरा पुष्टि गर्नु भएको छ । उहाँ देशको लागि उपयुक्त पात्र पनि होइन । अहिले जुन विरोधका आवाजहरु आइरहेका छन् । यसलाई कमजोर आँकेमा ७० वर्ष लामो उपलब्धी गुम्न सक्ने आशंका बढेको छ ।

संसद विघटनको सर्वत्र विरोध भइरहेको छ, के यो कदमले नेपालमा राजनीतिक अस्थिरता निम्तिने खतरा बढेको हो ?

यसमा अघि पछि फर्किएर हेर्नुपर्छ । हिजोका हरेक व्यवस्था जनताले नै फालेका हुन् । जस्तो राजतन्त्रले जनताको पक्षमा काम गरेर, परिवारमुखी भयो, शासक र शासितको अवस्था भयो भनेर जनताले आन्दोलन गरेर व्यवस्था फालेका होइनन् । हिजो चुनावमा जादाँ स्थिरता दिन्छौ, स्थायी सरकार बनाउँछौ भनेर जनताको भोट मागेका होइनन र कम्युनिस्टहरुले । जनताले पनि उनीहरुलाई पत्याए । जब सत्तामा पुगे देख्यो भयो नी त्यो मात लाग्यो । खासगरी ओली आफूलाई सर्वेसर्वा सम्झिन थाले । म बाहेक अरु कोही होइन भन्न थाले । त्यसको मातको सिकार हिजो नेकपा भएको थियो । आज सिंगो देश भयो । अबको नेपालको राजनीतिक अस्थिरताको प्रारम्भ विन्दु यहिँ हो । संविधानले केपी ओली र नेपाललाई जनतालाई बराबर हैसियत प्रदान गरेका छ । अहिले ओलीको अहंकारले यस्तो समस्या निम्तियो । मानिस सडकमा आउन थालिसके । तीन वर्षयता सुनसान सडक तातिन थालेको छ । व्यवस्था बचाउनको लागि आन्दोलनमा छ ।

प्रमुख प्रतिपक्ष दलको हैसियतले नेपाली काँग्रेसले यो कदमलाई कसरी हेरेको छ ?

संसद विघटनको कदमलाई नेपाली काँग्रेसले गैरसंवैधानिक ठहर गरिसकेको छ । त्यसको विरोधमा हामी अहिले सडकमा छौ । काँग्रेसको केन्द्रीय कमिटीको बैठकले पनि यो कदम गैर संवैधानिक, संविधान विपरित र जनभावना विपरित भएको निर्णय गरिसकेको छ । हामीले तीन तहका सरकारमा अहिले शसक्त विरोध गरिरहेका छौ । यो निर्णय नसच्चिएसम्म निरन्तर विरोध गरिरहने छौ । हिजो पनि नेपाली काँग्रेस व्यवस्था परिवर्तनको लागि नेतृत्व गरेको पार्टी हो । अहिले पनि व्यवस्थाको रक्षाको लागि हामी तयार छौ । निर्वाचन पनि नेकपालाई जनताले बहुमत दिए । हामीले पनि प्रमुख प्रतिपक्ष दलका हैसियतले सरकारका राम्रो कामको समर्थन गरेकै हो । तर अहिले त्यो अवस्था रहेन । व्यवस्था र संविधान रक्षाको लागि हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौ । यो कदम राजनीतिक अस्थिरतालाई निम्तो हो ।

काँग्रेसमा संसद पुनःस्थापना की चुनाव भन्नेमा दुविधा देखिन्छ, प्राथमिकता के हो ?

पहिलो कुरा यो संविधान सम्वत निर्णय होइन भनेर काँग्रेसले बोलिसकेको छ हामी आन्दोलन मै छौ । अर्कातिर तिर संसद विघटन भएर देश जनप्रतिनिधि विहीन भएको छ ।यो मुद्धा अदालतमा प्रवेश गरिसकेकाले फैसला नभएसम्म केही भन्न सकिने अवस्था छ । अदालतबाट सकारात्मक निर्णय आउनेमा हामी विस्वस्त छौ । जहाँसम्म संसद पुनःस्थापना की चुनाव भन्ने काँग्रेसको प्राथमिकता हो भन्ने विषयमा कुरा गर्नु भयो, पहिलो त संसद पुनःस्थापना हुनुपर्छ भन्ने हो । यसको विकल्प पनि छैन । अर्को कुरा चुनावको मिति घोषणा भइसकेको छ । त्यसैले व्यवस्थाको रक्षाको लागि पनि चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी त लोकतान्त्रिक पार्टी हो, चुनावमा त जानैपर्छ ।

अन्त्यमा, के संसद पुनःस्थापना होला ?

संसद पुनःस्थापना हुनुपर्छ । संसद पुनःस्थापना नभएमा हेर्दै जानुहोला देशमा आगो बल्छ । फेरी आन्दोलन हुन्छ । हिजो राणा, पञ्चायत र राजा फालेका जनताले केपी प्रवृत्तिको अन्त्य गर्छन । उनलाई सत्ताच्युत गर्छन् । हाम्रो व्यवस्था अझै सुदृढ हुन्छ । जनता व्यवहारमा संघीय लोकतान्त्रिक गणतन्त्र चाहिरहेका छन ।