एक हजार २०५ ले लगाए खोप

माघ २०, काठमाडौँ – कोभिडविरुद्धको खोप अभियान सोमबारबाट सकिएको छ । यही माघ १४ गतेदेखि शुरुआत अभियानका क्रममा एक हजार २०५ ले कोभिड खोप लगाएका छन् । जिल्लास्थित सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतले कोभिड खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार खोप अभियानको अन्तिम दिन सोमबार ८६ ले खोप लगाएका छन् । यस अवधिमा व्यास नगरपालिकाका ३२७, म्याग्दे गाउँपालिकाका ५५, ऋषिङ गाउँपालिकाका ६५, शुक्लागण्डकी नगरपालिकाका १४२, भीमाद नगरपालिकाका १२३, घिरिङ गाउँपालिकाका ५७, भानु नगरपालिकाका १२८, बन्दीपुर गाउँपालिकाका ११६, आँबुखैरेनी गाउँपालिकाका ५८ र देवघाट गाउँपालिकाका १३४ जनाले खोप लगाएका छन् । खोप लगाएकालाई हालसम्म जटिल किसिमको लक्षण देखा नपरेको कार्यालयले जनाएको छ । कूल एक हजार ६७९ जनालाई खोप लगाउने लक्ष्य थियो ।