वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

माघ १७, काठमाडौँ – काठमाडौँ, १७ माघ (रासस) : वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले राससलाई जानकारी दिए । गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमामात्र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।

जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी हुनुभएको थियो । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए ।