कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर

माघ ६, काठमाडौ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई शेयर प्रदान गर्न लागिएको हो ।

यसका लागि नगरपालिकाको आठौँ नगरसभाले कृषि उपज सङ्कलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित गरेको छ । सोमबार सम्पन्न नगरसभाले सबै घरधुरीलाई शेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनाएको नगरप्रमुख किसान गुरुङले जानकारी दिए। उनका अनुसार केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नगरवासीको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी निर्देशिका बनाइएको छ । रु पाँच करोड १८ लाखको लगानीमा कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण भइरहेको छ ।

नगरसभाले चालु आर्थिक वर्षमा बजेटमा समावेश नीति तथा कार्यक्रमको रकमान्तरसँगै योजना संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न पालिकाले गरेको अभ्यासअनुसार अगाडि बढ्ने निर्णय भएको प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । यसका लागि बोलपत्र परे पनि अख्तियारमा उजुरी परेपछि कार्यान्वयन हुनसकेको छैन ।

नगरपालिकाले सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधानका आयोगको लागि बजेट रकमान्तर गरेको छ । लक्षित वर्गअन्तर्गत विनियोजित आदिवासी जनजाति, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकमबाट रु २० लाख आयोगका लागि रकमान्तर गरिएको प्रवक्ता कुमालले जानकारी दिए ।