खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँछ – डब्ल्यूएचओ

माघ ६, एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणले विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने बिबिसीलाई बताएका छन् ।

उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने बताए । अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खाप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रियससले यसबाट थप चुनौतीहरु आउने बताए ।

अहिलेसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशहरुले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।

कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै डब्ल्यूएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ ।