मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्तावः तीन मन्त्रीद्वारा राजीनामा

पुष १०, काठमाडौ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेका छन् । प्रदेशसभाका ४५ सदस्यले पौडेलविरुद्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईदुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पछिल्लो पटक देखिएको विवादका कारण मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको उनले बताए । “हामीलाई माथिबाट निर्देशन आयो, त्यसैले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ”, उनले भने । त्यस्तै प्रदेशका तीन मन्त्रीले आजै आफ्नो पदबाट राजीनामा दिएका छन । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालसँगै आफूले पनि राजीनामा दिएको मन्त्री जम्कट्टेलले जानकारी दिए ।