एकल महिलाका पीडा- ‘व्यवस्था बदलिए अवस्थामा उस्तै’

पुष ९, काठमाडौ- द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार यहाँ आयोजना गरेको सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयक प्रदेशस्तरीय गोष्ठीमा सहभागी महिलाले न्याय पाउन नसकेको गुनासो राखे ।

बागलुङकी द्वन्द्वपीडित जशोदा शर्माले विसं २०५८ मा बेपत्ता भएका श्रीमान्को बाटो हेर्दाहेर्दैै आफूले १९ वर्ष बिताएको भोगाइ सुनाइन । “राति कतै ढकढक आवाज सुन्दा पनि श्रीमान् नै आउनुभयो कि भन्ने हुन्छ, बेखबर श्रीमान्को सम्झनामा १९ वर्ष बित्यो, यथार्थ कहिले आउँछ रु भोग्नेको पीडा सुन्नेले अनुभूति गर्न सक्लान् र रु” उनले बेपत्ता परिवारको समस्याका लागि जुनै आयोग बने पनि पीडितलाई न्याय दिन नसकेको गुनासो गरिन ।

नवलपुरकी द्वन्द्वपीडित एकल महिला अमृृता सिग्देलले सत्य निरुपण आयोगले पीडितका आवाज सुन्न नसकेको बताइन। नामका लागि गठन हुने र सेवा सुविधा मात्र लिने आयोगले पीडितको पक्षमा काम गर्न नसक्ने उहाँको जिकिर थियो ।

पर्वतकी द्वन्द्वपीडित एकल महिला मनरुपा शर्माले विसं २०६१ मा श्रीमान् मारिएको पीडा सुनाउँदै न्याय नपाएसम्म शान्तिको अनुभूति हुन नसकेको गुनासो गरिन । उनले मानवाधिकार उल्लङ्घनका कुरा उठाउँदा शान्ति प्रक्रिया भत्किन्छ भन्ने मानसिकताले द्वन्द्वपीडितले न्याय नपाएको बताइन ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले विगतका तुलनामा महिला सशक्त हुँदै अधिकारका लागि एकताबद्ध हुन थालेको बताइन । “हिजोभन्दा आज महिलाहरुले एकताबद्ध भएर अधिकारका लागि आवाज उठाउनुभएको छ । अब आउने दिनमा अझै सशक्त हुनुहोस्”, उनले भनिन,“महिलालाई राज्यले बिनाधितो रु १५ लाख ऋण सस्तो ब्याजमा दिएको छ । उद्यमशीलताको बाटोमा महिला आउने सके हिंसा र विभेदको अन्त्य हुँदै जाने छ । ”

कार्यक्रममा सङ्कल्पका निवर्तमान क्षेत्रीय संयोजक दुर्गा न्यौपानेले एकल महिलाले रातो लगाउँदा झस्किने समाज अहिले परिवर्तनोन्मुख हुँदै गएको धारणा राखिन । उनले समातामूलक र न्यायिक समाजका लागि निरन्तर आवाज उठाएर समाजमा जकडिएको कथित मूल्यमान्यताको अवशेषलाई उखेलेर फाल्न एकल महिलाले आत्मबल बलियो बनाउनुपर्र्ने धारणा राखिन।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टङ्क खनालले आत्मसम्मानपूर्वक बाँच्ने मानवअधिकारमैत्री समाज निर्माणमा सबै जुट्नुपर्ने धारणा राखे । कार्यक्रमा एकल महिला समूह गण्डकीका अध्यक्ष प्रमिला तझ्याले एकल महिला सामाजिक, आर्थिक, मानसिक, सांस्कृतिक विविध हिंसा र विभेदमा परेको उल्लेख गर्दै उनीहरुलाई मनोपरामर्शसहित आत्मनिर्भर बनाउन सीपसँग जोडेर लाग्नुपर्ने बताइन । उनले कोभिड–१९ का कारण सिर्जित अवस्थाले पनि एकल महिलाले थप समस्या झेल्नुपरेको छ भवताइन।

समूहका जिल्ला अध्यक्ष जुना केसीले एकल महिलाको अवस्था बदल्न समूहले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन। इन्सेक गण्डकीका कार्यक्रम संयोजक सवनम शर्माले द्वन्द्व प्रभावित र एकल महिलाका लागि सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच विषयमा अहिलेसम्म भएका अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा कोसिस नेपालका मनोपरामर्शकर्ता जमुना शर्मा, नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, पोखरा वडा नं ३० का जनप्रतिनिधि रमा नेपालीले द्वन्द्वपीडित एकल महिलाका अवस्थाका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । सो कार्यशाला गोष्ठीमा प्रदेशका आठ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मीना अधिकारीले जानकारी दिइन ।रासस