पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता

मंसिर ३०, काठमाडौ- पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् ।

कोरोना सङ्क्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित काजीपौवामा महिला सामूहिक फूलखेतीमा जुटेका छन् । पुष्प महिला समूहद्वारा गरिएको व्यावसायिक फूलखेती अहिले सबैलाई लोभ्याउने भएको छ । तानसेन नगरपालिका–४ सिल्खानटोलकी स्थानीय बासिन्दा तथा समूहका अध्यक्ष प्रतीक्षा सिजालीले आफूहरुले पहिलोपटक व्यावसायिक फूलखेती गर्न थालेको बताइन । उनले निरन्तरको मेहनतले फूलखेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताइन ।

उनका अनुसार रु २० हजारको लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको र झण्डै रु ५० हजार फूलका बेर्ना बेच्दा फूलका थुँगा तथा मालाबाहेकको आम्दानी भएको छ । उनले अझै पनि फूलका माला बिक्री गर्न नसकिएको बताइन । आफूलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तृतरूपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उनको भनाइ थियो । विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढेको छ तर मागअनुसार मालाको अभाव रहिरहेको उनले बताइन ।

तानसेन–७ काजीपौवाकी फूल व्यवसायी चमेलीदेवी श्रेष्ठले विवाह, तथा दशैँतिहारबाहेक पास्नी, जन्मदिनको अवसरमा समेत पूmलको माग बढ्दो रहेको बताइन । सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । पाल्पाको भैरवस्थानको भैरवमन्दिरमा फूलको माग बढेको छ । पाल्पा–बुटबल सडकखण्डको शिद्धबाबा क्षेत्रको शिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फूलको माग बढिरहेको छ ।

ग्रामीण आर्थिक विकास सङ्घ ९रेडा० पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती थालिएको हो । कोरोना सङ्क्रमणले देशको अर्थतन्त्र कमजोर बनेको छ । नेपालीको आम्दानीको स्रोतसमेत कमजोर बनेको बेला पहिलोपटक व्यवसाय गर्नेहरुले केही मात्रामा आम्दानी र उत्पादन गर्ने सीप सिकेकामा खुशी देखिएको हो ।

मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाइ छ । चमेलीदेवीले फूलखेतीका लागि बीउको अभाव रहेको गुनासो गरिन । फूल उत्पादनका लागि बीउ नेपाली बजारमा नपाइने र पाए पनि महङ्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्नुपरेको उनको गुनासो छ । तानसेन नगरपालिकाभित्रका १० महिला फूलखेतीमा आबद्ध छन् ।

पाल्पामा पाँच वर्षअघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर पर्नुपर्ने बाध्यता थियो । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका, तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

फूलखेतीबाट रु ५० हजारदेखि १२ लाखसम्म आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूलखेतीबाट प्रशस्त आम्दानी हँुदै आएको छ । सयपत्री फूलको थुँगा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाइ छ ।

पाल्पामा आगामी वर्ष फूलखेतीका लागि क्षेत्र विस्तार हुने प्रमुख अर्यालले बताए । ज्ञान केन्द्र पाल्पाले यस खेतीको प्रवद्र्धनका लागि प्रचारप्रसार र प्राविधिक सहयोग गर्दै आएको प्रमुख अर्यालले बताए । व्यावसायिकरूपमा फूलखेती गर्ने उन्नत जातका फूलप्रति आकर्षित भएका छन् । स्थानीयस्तरमा फूलखेती गर्नेहरु कमी छैनन् । उनीहरुले परम्परागतरूपमा दशैँतिहारका लागि मात्र फूल उत्पादन गर्दै आएको पाइन्छ । हजारी, मखमली फूलको समेत उत्पादन हँुदै आएको पाइन्छ ।

जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाँडा क्षेत्रबाट दशैँतिहार लक्षित गरी फूलखेती हुँदै आएको स्थानीयवासी छविलाल गहतराजले बताए । कोरोनाका कारण रोजगारी गुमाएका युवा अहिले व्यावसायिकरूपमा कृषि तथा पशुपालन र खेती आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस