‘सडकका बेवारिसे आमा बा जस्ता लाग्छन’

मैले आफ्नै बुबाको मरेको लासमा दागबत्ति दिनु त परको कुरा छुन समेत पाएको थिइन । तर अहिले मैले बेवारिसे लास जलाइरहेकी छु । अहिले सम्म पाँच वटा लासमा दागबत्ति दिइसके ।

बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको बाँके शाखाको अध्यक्ष हुन्, पुजा विश्वकर्मा । लामो समय पत्रकारितामा बिताएकी उनी बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र मार्फत समाज सेवामा उदाएकी छन् । उनकै नेतृत्वमा बाँकेमा केन्द्रले छोटो समयमा नमूना काम गर्दै आएको छ । बाँकेमा बेवारिसेहरुको व्यवस्थापनमा काम गर्दै आएकी केन्द्रको अध्यक्ष पुजा विश्वकर्मासँग केन्द्रका काम, हाल भइरहेका गतिविधि, पत्रकारिता देखि समाज सेवामा पुजाको यात्रा लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश –

 यहाँको दैनिकी कसरी बितिरहेको छ ?

दैनिकी यस्तै छ । निरन्तर समाज सेवामा छौ हामी । म लगायत हाम्रो सिंगो टिम बेवारिसेहरुको उद्धार तथा व्यवस्थापनको लागि लागि परेको छ । हामीले बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र मार्फंत आधिकारिक र संस्थागत रुपमा काम गरिरहेका छौ । हाम्रा कामहरुको विस्तारै रिजल्ट समेत देखिन थालेको छ ।

पत्रकारिता गरिरहेको मान्छे एक्कासी समाज सेवामा कसरी जोडिनुभयो ?

हो मैले लामो समय पत्रकारिता गरे । देशको राजधानीमा बसेर विषेशगरी युट्युब पत्रकारिता गरे । त्यसपछि बाँके मै आएर मैले विभिन्न अनलाइन पत्रिकाहरुमा पनि काम गरे । पत्रकारिता गर्ने क्रममा मेरो विनय बस्नेतसँग भेट भयो जो बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । उहाँको मेरो पहिलो भेट पशुपतिमा भएको हो । उहाँको अन्तरवार्ता लिन जान्थे पशुपतिमा । धेरैपटक बस्नेतसँग अन्तरवार्ता लिएको छु । सोही क्रममा हामीबीच राम्रो चिनजान भयो । सम्बन्ध पनि राम्रो हुदै गयो । उहाँले मलाई आफ्नै बहिनी जस्तै गरेर माया गर्नुहुन्थ्यो । समाजको लागि केही न केही राम्रो काम गर्न सुझाव दिइरहनु हुन्थ्यो । पछि बस्नेत ज्यूले मलाई आफ्नो संस्थामा काम गर्न अफर गर्नुभयो । धेरै अघि देखिनै उहाँले मलाई सहकार्यको लागि प्रस्ताव गरिरहनु भएको थियो । मैले गर्दिन भने । तर उहाँले तलब दिएर पनि राख्छु काम चाँही गर्नै पर्छ भनेर भनिरहनु भएको थियो । सायद त्यतिबेला मलाई यस क्षेत्रमा काम गर्ने चाहना थिएन । उहाँको प्रस्ताव स्विकार गरिन । तर लकडाउन पछि मेरो घर आए । यहाँ पनि मिडिया मै काम गरिरहेको थिए । बीचमा हाम्रो सम्पर्क भयो । उहाँले बाँकेमा पनि शाखा खोलौ भन्ने कुरा गर्नुभयो । यति बेला भने मैले उहाँलाई हुन्छ काम तयार छौ भन्ने उत्तर दिए । लगत्तै उहाँ आउनु भयो । मेरो नेतृत्वमा शाखा विस्तार पनि भयो । अहिले काम पनि भइरहेको छ निरन्तर । खास यसरी नै जोडिएको हो । पत्रकारिताबाट समाजसेवामा ।

 तपाईको केही पारिवारिक पृष्ठभूमि बताइदिनुन ?

मेरो घर यहि हो । तर मेरो परिवार लामो समय भारतमा बस्यो । मेरो जन्म पनि भारत भएको हो । म त्यतै हुर्के । त्यति पढे । १३ वर्षको उमेरमा मात्रै नेपाल आएको हो म । अहिले चाही घरमा आमा , दिदि, भाइ र म छौ । बुबाको मृत्यु भइसक्यो । उहाँको हाम्रो परिवार भारतमा हुँदा नै मृत्यु भएको हो । उहाँको मृत्युपछि हामी नेपाल फर्कियौ । आमा भने बेला बेला भारत गइरहनुहुन्छ । मेरो घरको आर्थिक अवस्था भने कमजोर थियो । अहिले पनि औसत छ ।
म घरको आर्थिक अवस्था कमजोर भएका कारण नेपाल आएपछि कामको खोजीमा काठमाडौँ गए । छिमेकीले त्यहाँ काम लगाइदिने र पढाइदिने भनेर लगेका थिए । पहिलो पटक काठमाडौँ छिर्दा कक्षा सातमा पढ्थे । कक्षा ६ सम्म भने भारत मै पढेकी हुँ । दिउँसो स्कूल जान्थे विहान र साँझ भने ‘हेल्पर’को रुपमा काम गर्थे । पछि पत्रकारितामा लागे । अहिले भने समाज सेवामा छु ।

पहिलो पटक बेवारिसे लास जलाउँदाको अनुभव बताइदिनुन ?

यसअघि मैले विनयजंग बस्नेत दाईले लास जलाएको देखेको थिए । पशुपतिमा लास पोलिरहेको धेरै नजिकबाट नियालेको थिए जलाएको । खास्सै नौलो लागेन । बाँकेमा पहिलो पटक विनय दाई र मैले लास जलाएका हौ । उहाँले मलाई निकै हिम्मतका साथ काम गर्न लगाउनु भयो । अनौठो यस मानेमा लाग्यो, हिजो आफ्नै बाबाको लास छुन समेत नपाएकी म आज अपरिचित बेवारिसेको लास जलाउँदै थिए । म अलि नर्भस चाँही भएको थिए ।

 एउटा केटी मान्छेले आफ्नै बा आमालाई समेत मरेपछि छुन नपाउने समाजमा तपाईलाइ त अनौठो लागे होलानी ?

हो, एकदमै सही कुरा गर्नुभयो । मेरो बुबाको मृत्यु भारतमा भएको थियो । त्यतिबेला म सानो थिए । मेरो भाइ त झन सानो थियो । मेरो ममी पनि सँगै हुनुहुन्थ्यो । लास जलाउन मेरो भाई गयो । म पनि जान्छु भने लासलाई दागबत्ति दिन्छु भने । मलाई जान दिनु भएन । मैले आफ्नै बुबाको मरेको लासमा दागबत्ति दिनु त परको कुरा छुन समेत पाएको थिइन । तर अहिले मैले बेवारिसे लास जलाइरहेकी छु । अहिले सम्म पाँच वटा लासमा दागबत्ति दिइसके । मेरो समाजमा चलन छ चेलीहरु जानुहुदैन । छुनुहुदैन । तर परिवर्तन आफूबाटै गर्नुपर्छ भन्ने उद्देश्यका साथ लागि परेका छौ ।

 बेवारिसेहरुको लास जलाउनु हुन्छ, बेवारिसेहरुको उद्धार र व्यवस्थापन समेत गर्नुपर्छ, चूनौतीह के–के आइपर्दा रहेछन् ?

हामी केटी मान्छेलाई सबै भन्दा ठूलो चूनौती भनेकै घर हो । पहिला त हामीहरुलाई घरभित्रैबाट बाहिर निस्कन समस्या हुन्छ । परिवारले स्विकृति दिदैन । मेरो हकमा त्यसो छैन । मेरो आमाले मलाई एकदमै ठूलो सहयोग गर्नुभएको छ । हौसला दिनु भएको छ । यसमा म मात्रै छैन । मेरो भाइ र दिदि समेत छन् । एकै परिवारका तीन जना हामी यसमा लागि परेका छौ । हामीसँग अन्य साथीहरु पनि हुनुहुन्छ । उहाँ पनि चूनौतीलाई सामना गर्दै जोडिरहनु भएको छ । अब काम गर्दा चूनौती त थुप्रै हुन्छन् । यो काममा मात्रै होइन सबै काममा । हामी चूनातीहरुलाई स्विकार गछौ र काम गर्छौ ।