तीन दिनदेखि हराएका सुवेदी मृत फेला

मंसिर २१, काठमाडौ – तीन दिनदेखि हराएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदीलाई हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ । शनिबार फेला परेको शवको सनाखतपछि शव सुवेदीको भएको बुझिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

परिवारका अनुसार ५० वर्षीय सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका थिए। सञ्चारमाध्यममा मृतावस्थामा फेला परेको फोटोसहित समाचार आएपछि परिवारका सदस्यले मकवानपुर प्रहरीसँग समन्वय गरेका थिए । परिवार सम्पर्कमा आएपछि शवको सनाखत भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । हाल शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।