एचआइभी सङ्क्रमित बढ्दै

मङ्सिर २०, काठमाण्डौँ – कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ ।”

आर्थिक वर्ष २०७३/७४ मा २१ जनामा एचआइभी सङ्क्रमित पुष्टि भएको थियो, भने ०७४/७५ मा थप २८ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०७५/७६ मा ४५ जना सङ्क्रमित थपिए भने ०७६/७७ मा थप ३३ जनामा एचआइभीका नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ सङ्क्रमित फेला परेको सुनारले जानकारी दिए । हाल यहाँ २८३ जना नियमित औषधि सेवन गरिरहेका छन् । चालु आवको चार महिनाको अवधिमा १३ जना नयाँ सङ्क्रमित थपिएकाले यो वर्ष अझ बढ्न सक्ने प्रमुख सुनारको भनाइ छ । कोरोना महामारीका कारण थुप्रै मानिसले बसाइ सरेको कारणले पनि एचआइभी एड्सका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीको अुनमान छ ।