कोभिड – १९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ – प्रधानमन्त्री ओली

मंसिर १९, काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु पर्ने बताए । ३१ औं विशेष महासभामा कोरोना विरुद्धको खोप नाफा मुलक नभइ विश्वकै सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनु पर्ने बताएका हुन् ।

यस्तै, उनले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्नेमा जोड दिए ।

महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नु अघि उनको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव सुनाएका थिए ।