कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु

मंसिर ९, काठमाडौं  – कोरोनाका कारण रोकिएको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुने भएको छ । देशभर ४ हजार १०५ वटा परीक्षा केन्द्रबाट परीक्षा हुन लागेको हो ।

बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन् ।

परीक्षा केन्द्रहरुले भने स्वास्थ्य मापदण्ड पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने र सङ्क्रमण भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको कक्षा १२ को परीक्षा मंसिर १६ गते सम्म रहनेछ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनु पर्ने परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो ।