चौंरीदेउरालीमा कृषि सडक : गाउँलेमा खुशीयाली

कात्तिक २९, काठमाडौ – काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ । रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घटान गरे । गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ । सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीयवासीमा खुशीयाली छाएको छ ।

गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताए । “हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं”, उनले भने । गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताए । वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबै भन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढीरहेको छ भने ।