‘नेपालको पश्चिम क्षेत्रमा क्यान्सरको स्थिति भयावह छ । ’

नेपालमा सबैभन्दा जटिल मानिएको रोग मध्ये क्यान्सर पनि एक हो । यहाँ वर्षेनी विभिन्न खाले क्यान्सरका कारण नागरिकले ज्यान गुमाउँछन् । क्यान्सर के हो ? कसरी यसको रोकथाम र उपचार गर्न सकिन्छ ? प्रस्तुत छ, यस्तै विषयको सेरोफेरोमा रहेर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जनरल सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अनुप शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

क्यान्सर कस्तो रोग हो । जानकारी गराईदिनुन ?

क्याक्सर एउटा रोग हो । हाम्रो शरिर कोषिकाहरुले बनेको छ । मानिसका शरिरमा हजारौ कोषिका हुन्छन् । ती कोषिकाहरुले हाम्रो शरिरलाई चलाइरहेका छन् । ती सबै कोषिका स्वचालित हुन् । क्यान्सरमा के हुन्छ भने त्यो शरिरको जुन  म्याकानिजम हो, त्यो क्रम टुटेर कुनै कोषिका आफ्नै हिसाबले बढ्न थाल्छन् । जसमा शरिरमा कुनै पनि कन्ट्रोल हुँदैन । त्यो कारणले गर्दा क्यान्सर हुने हो ।

क्यान्सर रोग लाग्नुको कारण के हो ? नेपालको पश्चिम क्षेत्रमा यसको अवस्था कस्तो पाउनु भएको छ ?

म कोहलपुरमा काम गर्न थालेको मात्रै १२ वर्ष भयो । विगत ५ वर्ष देखि विशेष गरी क्यान्सरको उपचारमा केन्द्रित छु । दिल्लीस्थित राजिव गान्धीबाट पेटको क्यान्सरको तालिम गरेर आएपछि यहाँ शुरु गरेको
हो । हामी यहाँ अपे्रशन गर्छौ । अहिले आएर हेर्दाँ क्यान्सर धेरै छ । भयावह नै छ । हप्ताको जस्तो पेटको क्यान्सर र स्तन क्यान्सरका अधिकतम तीन जना आउँछन् । उनीहरुको अप्रेसनहरु भइरहेको हुन्छ । यो अस्पतालसम्म पुग्ने मात्रैको संख्या हो । अन्य क्षेत्रमा समेत यस्तो समस्या भएको हामी पाउँछौं । तपाईले भन्नु भएजस्तै पश्चिम क्षेत्रमा समेत यसको अवस्था अलि धेरै नै छ । तथ्यांक नै छैन । तर अस्पतालमा आउनेहरुको संख्यालाई हेर्दा अलि बढी नै छ । जसरी अहिले क्यान्सरको भयावह स्थिति छ । अहिले यसको अवस्था पनि भयावह नै छ समाजमा । तर यो सरुवा रोग नभएकोले सम्बन्धित व्यक्तिलाई मात्रै असर गर्छ ।

कुनै पनि व्यक्तिमा क्यान्सर भयो भने मरिहाल्छ की बाँच्ने पनि सम्भावना हुन्छ ?

क्यान्सर एउटा रोग हो । हाम्रो शरिरमा विभिन्न भाग छन् । हाम्रो शरिरमा नङ र कपालबाहेक सबै अंगमा क्यान्सर हुन सक्छ । सबै ठाउँको क्यान्सरको एउटै व्यवहार हँुदैन । एक अर्थमा भन्दा सिधा रुपमा भन्दा क्यान्सर उपचार छैन भन्दा पनि हुन्छ । यदि तपाई अर्को हिसाबमा जानु भयो भने, सन्चो हुन्छ । उदाहरणको लागि कुनै पनि व्यक्तिमा मुखको क्यान्सर हुन्छ । यसको मुख्य कारण सूर्तिजन्य पदार्थको सेवन हो । मुखका पनि विभिन्न भागमा हुने गर्दछ । यस्तो क्यान्सरको हकमा छिटो थाहा हुन्छ । घाउ देखिने वित्तिकै मानिस अस्पताल आउँछन् । बाँच्ने हिसाबले अरु क्यान्सर भन्दा कम जोखिम छ । उपचार भयो भने, केही वर्ष बाँच्ने सम्भावना समेत रहन्छ । यदि घाँटीको क्यान्सर भयो भने, मुखको भन्दा अलि बढी जोखिमयुक्त हुन्छ । यो क्यान्सर उपचार भइहाल्यो भने पनि समस्या हुन्छ । यो कुन चरणमा छ भन्ने कुरामा
भर पर्छ । फोक्सोको समेत अवस्था यस्तै छ । पेटको क्यान्सरको कुरा गर्नुहुन्छ भने यो निकै जटिल छ । जस्तै पित्त थैलीको क्यान्सर थाहा हुन गाह्रो थाहा भएपनि उपचारको लागि झन् गाह्रो छ । प्रति सय जनामा बढीमा २० जना बराबरलाई मात्रै बचाउँन सकिन्छ । तर महिलाहरुको स्तन क्यान्सरको उपचार गरेर निको पार्न सकिन्छ । क्यान्सर भइहाल्यो भने, गाह्रौ नै छ ।

क्यान्सरका विरामी किन दोस्रो वा तेस्रो चरणमा पुगिसकेपछि मात्रै अस्पताल पुग्छन्, यसको कारण के हो ?

एउटा कुरा के हो भने क्यान्सर भइहाल्यो भने दुख्दैन । मान्छेलाई नदुख्ने हुनाले हेक्का गर्दैन । थाहा पाउदैन । स्तन क्यान्सरमा भने गिर्खा आउने हुनाले थाहा भइहाल्छ । चरण चाही कस्तो हुन्छ भन्दा पहिलो, दोस्रो, तेस्रो र चौथो भन्ने हुन्छ । छिटो नआउनुको कारण के हो भने यसको प्राय लक्षण नै हुँदैन । लागेको भन्ने कुरा नै पत्तो पाइदैन । शरिरका जुन प्राय भागमा क्यान्सर भएपनि पहिला थाहा नहुने हुनाले यसो भएको हो । अरु भन्दा पनि स्तन क्यान्सर बारे मान्छेमा धेरै सचेतना बढेको छ । अहिले गाउँमा पुग्यो भयो भनेपनि, स्तनमा गिर्खा आउन जित्तिकै क्यान्सर भयो, उपचार गराउनुपर्छ भन्ने कुराहरु आउने गरेको छ । यसको मुख्य कारणहरु मध्ये व्यक्तिले रोगलाई लुकाउने र लक्षण थाहा नभएर नै हो ।

तपाई त जनरल सर्जरीको पनि डाक्टर, कत्तिको बिरामीहरु आउने गरेका छन् ?

जनरल सर्जरी सेवा भनेको हामीले परिभाषित नै गर्न नसकिने कुरा हो । जनरल सर्जरीबारे पहिला भन्दा अहिले धेरै कुरा परिवर्तन आएको छ । दुई दशक अघि र अहिलेको अवस्था हेर्दा तपाईले धेरै परिवर्तनहरु पाउनुहुन्छ । तीन वर्ष एमविविएस गरेको व्यक्तिले यो सेवा मज्जाले दिन सक्छ । यसमा हरेक चीजको उपचार गरिन्छ । यसमा गर्ने भनेको अप्रेशन पनि हो । जस्तै पीत्त थैलीको उपचार दैनिक भइरहेको छ । कमन अल्सरको अवस्था छ । यो बढी आउने गरेको छ । यस्ता केस रिमोट एरियाबाट आउने गरेको छ । पेट र छातीमा चोट लागेका केसहरु पनि आउने गरेका छन् ।

अन्त्यमा क्यान्सर हुनै नदिनको लागि के गर्नुपर्छ जानकारी गराइदिनुन न ?

क्यान्सरको दुईवटा कारणले हुन्छ । एकत वंशाणुगत हो यो । जस्तै महिलाहरुमा स्तन क्यान्सर हुन्छ । यसमा वंशको भूमिका रहन्छ । अर्को कुरा भनेको आफ्नो जीवनशैली नै हो । मदिरा तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने । जनचेतनाको अभावका कारण पनि यो हुने गरेको छ । त्यसैले सबैले यसमा निकै ध्यान दिनुपर्छ । क्यान्सर हुनै नदिनु नै सबै भन्दा उत्तम विकल्प हो । त्यसैले सबैलाई मेरो आग्रह क्यान्सर हुनै नदिउ । यदि भइहालेमा समय मै उपचार गरांै । सबैलाई सचेतना जौगाऔँ ।